चितवन । चितवन क्षेत्र नम्बर ३ मा चुनावी सरगर्मी बढ्दै जाँदा भरतपुर महानगरपालिका वडा नं. २५, अमृत चोकमा बुधबार एक विशेष राजनीतिक कार्यक्रम सम्पन्न भएको छ। कार्यक्रममा नेपाली कांग्रेस र नेकपा एमालेका दुई प्रभावशाली पूर्व जनप्रतिनिधिहरूले आफ्नो माउ पार्टी परित्याग गरी नेपाल कम्युनिष्ट पार्टीमा प्रवेश गरेका हुन्।
चितवनको अमृत चोकमा उर्लिएको जनसागरकाबीच नेपाली कांग्रेसका पूर्व जनप्रतिनिधि राजकुमार तामाङ र नेकपा एमालेका पूर्व जनप्रतिनिधि बुद्धलाल घिसिंहलाई प्रतिनिधि सभा निर्वाचन चितवन क्षेत्र नं. ३ की उम्मेदवार रेणु दहालले खादा र मालासहित पार्टीमा स्वागत गरिन्। उक्त पाटि प्रवेश कार्यक्रमले स्थानीय राजनीतिमा नयाँ तरंग पैदा भएको छ।
स्वागत कार्यक्रमलाई सम्बोधन गर्दै उम्मेदवार रेणु दाहालले अनुभवी र जनताका प्रिय नेताहरूको आगमनले विकासको अभियानलाई थप तीव्रता दिने विश्वास व्यक्त गरिन्। उनले भनिन्, ‘तपाईँहरूको यो निर्णयले चितवनको समृद्धि र राजनीतिक स्थायित्वका लागि ठुलो बल पुर्याएको छ।’
नवप्रवेशी नेताद्वय राजकुमार तामाङ र बुद्धलाल घिसिंहले जनताको सुख-दुःखमा साथ दिने र विकासको स्पष्ट खाका बोकेको नेतृत्व (रेणु दाहाल) लाई साथ दिनु नै अहिलेको आवश्यकता रहेको बताए। उनीहरूले आफूहरूसँगै ठुलो संख्यामा रहेका समर्थकहरू पनि अब नेकपाकै अभियानमा गोलबन्द हुने घोषणा गरे।