काठमाडौँ । काठमाडौँ जिल्लामा गत माघ महिनामा ९७६ वटा अपराधका मुद्दा दर्ता भएका छन्। तीमध्ये १५९ मुद्दा जघन्य तथा गम्भीर प्रकृतिका रहेको जानकारी जिल्ला प्रहरी परिसर काठमाडौँ ले दिएको छ।
परिसरका प्रवक्ता प्रहरी उपरीक्षक पवनकुमार भट्टराईका अनुसार महिला, बालबालिका तथा ज्येष्ठ नागरिकसँग सम्बन्धित २२ मुद्दा दर्ता भएका छन्। आर्थिक अपराधका ४६६ मुद्दा र अन्य विभिन्न प्रकृतिका ३४० मुद्दा दर्ता भएका छन्।
विशेष अपरेसनमा १० जना पक्राउ
प्रहरीले ‘विशेष अपरेसन’ सञ्चालन गरी मोटरसाइकलमा चढेर सडकमा हिँड्ने व्यक्तिमाथि लुटपाट गर्ने १० जनालाई पक्राउ गरी कानुनी कारबाही गरेको जनाएको छ।
फैसला कार्यान्वयन र पक्राउ
फैसला कार्यान्वयनतर्फ ३६० जनालाई पक्राउ गरिएको छ। उनीहरूबाट रु दुई करोड २० लाख जरिवाना असुल भएको प्रहरीले जनाएको छ।
यस्तै, चालु मुद्दातर्फ ७०९ जनालाई पक्राउ गरिएको छ, जसमध्ये ६३७ जना पुरुष रहेका छन्।
घरेलु हिंसाका उजुरी
महिला तथा बालबालिकासँग सम्बन्धित उजुरीतर्फ घरेलु हिंसाका १४९ र ठाडो निवेदन ४९ दर्ता भएका छन्। तीमध्ये घरेलु हिंसाका १३१ र ठाडो निवेदनका ३६ मुद्दा मिलापत्र भएको प्रहरीले जनाएको छ।