शनिबार, कार्तिक १४ २०८३

शनिबार, कार्तिक १४ २०८३

प्रतिनिधिसभा निर्वाचनका मतपत्र छपाइ अन्तिम चरणमा

सोमबार, फाल्गुन ४ २०८२

भक्तपुर । प्रतिनिधिसभा निर्वाचनका लागि मतपत्र छपाइ कार्य अन्तिम चरणमा पुगेको छ। जनक शिक्षा सामग्री केन्द्र लिमिटेड ले बाँकी रहेका पाँच लाख मतपत्र आज दिनभरमै छपाइ सम्पन्न हुने जनाएको छ।

केन्द्रका कार्यकारी प्रबन्ध सञ्चालक यदुनाथ पौडेलका अनुसार बागमती प्रदेशका लागि आवश्यक बाँकी मतपत्र साँझसम्म छापिसक्ने लक्ष्य छ। “प्रत्यक्षतर्फका दुई करोड तीन लाख मतपत्र छपाइ गर्नुपर्नेमा अब पाँच लाख मात्र बाँकी छन्। ४२ दिनको कार्यतालिका लिएर सुरु गरेको काम ४० दिनमै सम्पन्न हुँदैछ,” उनले बताए ।

छपाइ सम्पन्न भएपछि भोलिसम्म सबै मतपत्र ‘प्याकिङ’ गरी बाँकी जिल्लामा ढुवानी गरिने जानकारी दिइएको छ। केन्द्रले दैनिक १३ देखि १५ लाखसम्म मतपत्र छाप्दै लक्ष्यभन्दा अगाडि नै काम अघि बढाएको जनाएको छ।

यसैबीच, १० लाख नमूना मतपत्र निर्वाचन आयोग ले विभिन्न स्थानमा पठाइसकेको छ। समानुपातिकतर्फ दुई करोड आठ लाख ३० हजार मतपत्र छपाइ गरी प्याकिङ सम्पन्न भइसकेको र जिल्लामा पठाउने कार्य जारी रहेको केन्द्रले जनाएको छ।

कर्णाली र सुदूरपश्चिम प्रदेशमा आवश्यक सबै मतपत्र पुगिसकेको तथा अन्य प्रदेशमा पनि फागुन १२ गतेसम्म पुर्याउने लक्ष्यका साथ काम भइरहेको प्रबन्ध सञ्चालक पौडेलले जानकारी दिए ।