काठमाडाै । आईसीसी टी–२० विश्वकप २०२६ अन्तर्गत भारतविरुद्धको महत्वपूर्ण खेलमा पाकिस्तानको ब्याटिङ लाइन पूर्ण रूपमा ध्वस्त हुँदा ६१ रनको फराकिलो अन्तरले पराजित भएको छ। १७६ रनको लक्ष्य पछ्याएको पाकिस्तान १७.५ ओभरमै ११४ रनमा अलआउट भयो।
आइतबार राति सम्पन्न खेलमा पाकिस्तानको शीर्षक्रम फेरि एकपटक असफल रह्यो। ओपनर साहिबजादा फरहान शून्यमा आउट हुँदा सैम अयुव ६ रनमै पभेलियन फर्किए। बाबर आजम ५ रनमै आउट भएपछि पाकिस्तान सुरुआतमै दबाबमा पर्यो। कप्तान सलमान अली आघा र मोहम्मद नवाजले समान ४–४ रन मात्र जोड्न सके।
मध्यक्रममा उसमान खानले केही प्रतिरोध देखाए। पाँचौं नम्बरमा आएका उनले ३४ बलमा ४४ रन बनाउँदै ६ चौका र एक छक्का प्रहार गरे। अविजित रहेका शाहिन साह अफ्रिदीले २३ रन जोडे भने सादाब खानले १४ र फहिम असरफले १० रन बनाए। तर अन्य ब्याटरबाट साथ नपाउँदा पाकिस्तान लक्ष्यसम्म पुग्न सकेन।
भारतका लागि जसप्रीत बुमराह, वरुण चक्रवर्ती र अक्षर पटेलले समान दुई–दुई विकेट लिए। हार्दिक पण्ड्या, कुलदीप यादव र तिलक वर्माले एक–एक विकेट लिएर पाकिस्तानलाई सस्तैमा समेटे।
यसअघि टस हारेर पहिले ब्याटिङ गरेको भारतले निर्धारित २० ओभरमा ७ विकेट गुमाएर १७५ रन बनाएको थियो। ओपनर इशान किशनले ४० बलमा आक्रामक ७७ रन प्रहार गरे। कप्तान सूर्यकुमार यादवले ३२ रन बनाए भने शिवम दुबे (२७), तिलक वर्मा (२५) र रिंकु सिंह (११) ले उपयोगी योगदान दिए। अभिषेक शर्मा शून्यमा आउट हुँदा हार्दिक पण्ड्या गोल्डेन डकमा समेटिए।
पाकिस्तानका लागि सैम अयुवले ४ ओभरमा २५ रन खर्चेर ३ विकेट लिए। सलमान अली आघा, शाहिन अफ्रिदी र उसमान तारिकले समान एक–एक विकेट लिए।
यस जितसँगै भारतले लगातार तेस्रो विजय दर्ता गर्दै समूह ‘ए’ बाट सुपर–८ चरणमा स्थान सुरक्षित गरेको छ। तीन खेलबाट ९ अंक जोडेको भारतले यसअघि अमेरिका र नामिबियालाई पनि पराजित गरेको थियो।