काठमाडौँ । प्रतिनिधिसभा सदस्य निर्वाचन नजिकिएसँगै काठमाडौँ निर्वाचन क्षेत्र नम्बर २ मा चुनावी चहलपहल तीव्र बनेको छ।
औपचारिक प्रचारप्रसार फागुन ४ गतेदेखि सुरु हुने भएता पनि उम्मेदवारहरू घरदैलो, टोलसभा र मतदातासँग प्रत्यक्ष अन्तरक्रियाका माध्यमबाट पहुँच बढाइरहेका छन्।
यस निर्वाचन क्षेत्रमा कुल २८ जना उम्मेदवार छन्, जसमा १६ जना राजनीतिक दलका र १२ जना स्वतन्त्र उम्मेदवार रहेका छन्। नेपाल कम्युनिष्ट पार्टी (एमाले)बाट मणिराम फुयाँल, नेपाली कांग्रेसबाट कवीर शर्मा, राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)बाट सुनिल केसी, श्रम संस्कृति पार्टीका मुकुन्द कार्की र राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)बाट कुन्तीदेवी पोखरेल मैदानमा छन्। कुल २२ पुरुष र ६ महिला उम्मेदवार छन्, जसमा दलबाट तीन र स्वतन्त्रबाट तीन महिला उम्मेदवार रहेका छन्।
निर्वाचन क्षेत्रमा पुराना राजनीतिक दलका उम्मेदवार र नयाँ पार्टीका उम्मेदवारबीच कडा प्रतिस्पर्धा हुने देखिन्छ। अधिकांश उम्मेदवारले यो चुनावलाई केवल दलगत प्रतिस्पर्धा नभई मतदाताको विश्वासको परीक्षा भएको बताएका छन्।
उम्मेदवारका चुनावी एजेन्डा मुख्यतः रोजगारी सिर्जना, पूर्वाधार विकास, शिक्षा, स्वास्थ्य र भ्रष्टाचार नियन्त्रणमा केन्द्रित छन्। कानुन निर्माणभन्दा पनि मतदाताका दैनिकीसम्बन्धी समस्या समाधान गर्ने वाचा उनीहरूले गरेका छन्।
विशेष गरी कोटेश्वरको ट्राफिक जाम, खानेपानी समस्या, मनोहरा कोरिडोर व्यवस्थापन र रोजगारीका अवसर सृजनालाई धेरै उम्मेदवारले प्राथमिकता दिएका छन्।
सङ्घीय शासन प्रणाली कार्यान्वयन भएता पनि मतदाताले सडक, पुल, ढल र खानेपानी जस्ता आधारभूत समस्यामा सांसदहरूले नै पहल गर्नुपर्ने अपेक्षा राखेका छन्। उम्मेदवारहरूले भने, संघीयता कार्यान्वयन पछि स्थानीय, प्रदेश र संघीय तहले पूरा गर्नुपर्ने यी आवश्यकताहरू संसद्मा प्रतिनिधित्व गर्नेहरूको जिम्मा नभएको बताएका छन्।