शुक्रबार, कार्तिक १३ २०८३

शुक्रबार, कार्तिक १३ २०८३

त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थल क्षेत्रमा जुलुस–प्रदर्शन गर्न रोक

शुक्रबार, फाल्गुन १ २०८२

काठमाडौँ ।  काठमाडौँ प्रशासनले अतिसंवेदनशील मानिने त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थल र आसपासका क्षेत्रमा जुलुस, प्रदर्शन, हड्ताल तथा भेलाजस्ता कार्यक्रम गर्न नपाइने स्पष्ट पारेको छ। यस्ता गतिविधि गरिए प्रचलित कानुनबमोजिम कारबाही गरिने प्रशासनले जनाएको छ।

काठमाडौँका प्रमुख जिल्ला अधिकारी ईश्वरराज पौडेलले फागुन १ गते विमानस्थल क्षेत्र तथा आसपासमा प्रदर्शन, र्याली र भेला गर्ने भनी केही समूह तथा राजनीतिक दलबाट जारी विज्ञप्ति र सामाजिक सञ्जालमा फैलिएका सूचनाप्रति प्रशासनको गम्भीर ध्यानाकर्षण भएको बताए।

उहाँका अनुसार, यस्ता कार्यक्रम गर्न स्थानीय प्रशासन ऐन, २०२८ बमोजिम पूर्वस्वीकृति लिनुपर्ने व्यवस्था रहे पनि कसैले पनि कार्यालयमा जानकारी गराउने वा अनुमति लिने कार्य नगरेको पाइएको छ।

प्रशासनले जारी गरेको सार्वजनिक सूचनामा हाल निर्वाचन आचारसंहिता लागू भइसकेको सन्दर्भमा यस्ता गतिविधि निषेधित रहेको उल्लेख छ। साथै, यस्ता कार्यक्रममा निर्वाचनविरोधी भनिएका समूहहरूको घुसपैठ हुनसक्ने सम्भावना रहेको जनाइएको छ।

विज्ञप्तिमा आसन्न निर्वाचन, फागुन ३ गते पर्ने महाशिवरात्रि पर्वको व्यवस्थापन, धार्मिक तथा सांस्कृतिक आस्थाको सम्मान, विमानस्थलजस्तो संवेदनशील स्थानको सुरक्षा तथा यात्रुहरूको सहज आवागमन सुनिश्चित गर्न विमानस्थल आसपास र सार्वजनिक सडक मार्गमा कुनै पनि प्रकारका जुलुस, प्रदर्शन, र्याली वा भेला नगर्न/नगराउन आग्रह गरिएको छ। सामाजिक सञ्जालमार्फत यस्ता गतिविधि प्रेरित वा उक्साउने कार्य नगर्न पनि चेतावनी दिइएको छ।

निषेधित तथा संवेदनशील क्षेत्रमा कानुनविपरीत गतिविधिमा संलग्न जोसुकैलाई प्रचलित कानुनअनुसार कारबाही गरिने प्रशासनले स्पष्ट पारेको छ।