शनिबार, कार्तिक १४ २०८३

शनिबार, कार्तिक १४ २०८३

निर्वाचन तयारी तीव्र : कर्णालीका १२ क्षेत्रमा मतपत्र ढुवानी सुरु

शुक्रबार, फाल्गुन १ २०८२

काठमाडौँ। निर्वाचन हुन अब २० दिन मात्र बाँकी रहँदा निर्वाचन आयोग ले कर्णाली प्रदेशका १० जिल्लाका १२ निर्वाचन क्षेत्रमा मतपत्र पठाउन थालेको छ । मतपत्र छपाइ सम्पन्न भइसकेपछि ती क्षेत्रतर्फ ढुवानी सुरु गरिएको हो ।

आयोगका सहायक प्रवक्ता प्रकाश न्यौपानेका अनुसार सल्यान, रुकुमपश्चिम, डोल्पा, मुगु, हुम्ला, कालिकोट, जुम्ला, जाजरकोट, दैलेख र सुर्खेतका निर्वाचन क्षेत्रमा मतपत्र पठाइएको छ । यससँगै ५८ जिल्लाका १२४ निर्वाचन क्षेत्रका लागि मतपत्र छपाइ सम्पन्न भइसकेको छ । हालसम्म कुल एक करोड ५७ लाख ७८ हजार मतपत्र छपाइ भएको आयोगले जनाएको छ ।

डोल्पा, मुगु, जुम्ला, कालिकोट, हुम्ला, जाजरकोट, दैलेख, रुकुम (पश्चिम), सल्यान, सुर्खेत, बाजुरा, अछाम, बझाङ, डोटी, डडेल्धुरा, दार्चुला, बैतडी, कैलाली, कञ्चनपुर, पाँचथर, इलाम, तेह्रथुम, भोजपुर, ओखलढुङ्गा, सुनसरी, ताप्लेजुङ र सङ्खुवासभालगायत जिल्लाको मतपत्र छपाइ सकिएको छ । साथै सोलुखुम्बु, खोटाङ, धनकुटा, बागलुङ, गुल्मी, झापा, गोरखा, म्याग्दी, पर्वत, नवलपरासी (बर्दघाट सुस्तापश्चिम), मोरङ, उदयपुर, मुस्ताङ, लमजुङ, तनहुँ, स्याङ्जा, बर्दिया, रुकुमपूर्व, दाङ, बाँके, नवलपरासी (बर्दघाट सुस्तापूर्व), पाल्पा, अर्घाखाँची, प्यूठान, रुपन्देही, रोल्पा, मनाङ, रामेछाप, सिन्धुली, रसुवा र सिन्धुपाल्चोकका मतपत्रसमेत छपाइ सम्पन्न भएको छ ।

आयोगका अनुसार हालसम्म १४ हजार ३४१ बाकस मतपत्र प्याकिङ भइसकेको छ । दैनिक करिब एक हजार बाकस मतपत्र प्याकिङ भइरहेको छ भने १३ देखि १५ लाखसम्म मतपत्र छपाइ भइरहेको छ ।

प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि जनक शिक्षा सामग्री केन्द्र लिमिटेड, सानोठिमीमा मतपत्र छपाइ जारी छ । पहिलो चरणमा १० लाख ९८ हजार २०० नमूना मतपत्र छपाइ गरी विभिन्न जिल्लामा पठाइसकिएको छ ।

समानुपातिक निर्वाचन प्रणालीतर्फ माघ १३ गते दुई करोड आठ लाख ३० हजार मतपत्र छपाइ सम्पन्न भई प्याकिङ र रुजु गरी ढुवानीका लागि तयारी अवस्थामा राखिएको आयोगले जनाएको छ । प्रत्यक्षतर्फ भने दुई करोड तीन लाख २३ हजार मतपत्र छाप्नुपर्ने छ, जसका लागि माघ १६ गते बिहानदेखि छपाइ सुरु गरिएको थियो ।

निर्वाचन नजिकिँदै जाँदा आयोगले तयारीलाई तीव्र बनाएको जनाएको छ ।