शनिबार, कार्तिक १४ २०८३

शनिबार, कार्तिक १४ २०८३

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल क्षेत्रमा एक महिनाका लागि निषेधाज्ञा

बिहिबार, माघ २९ २०८२

काठमाडौं । जिल्ला प्रशासन कार्यालय काठमाडौंले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल परिसरभित्र निषेधाज्ञा जारी गरेको छ। फागुन १ गते विमानस्थल र आसपासको क्षेत्रमा प्रदर्शन गर्ने भन्दै केही समूह तथा राजनीतिक दलले विज्ञप्ति जारी गरेपछि स्थानीय प्रशासनले उक्त निर्णय गरेको हो।

बिहीबारदेखि लागू हुने गरी एक महिनासम्मका लागि जारी गरिएको निषेधाज्ञाअनुसार विमानस्थल हाताभित्र पाँच जनाभन्दा बढी व्यक्ति भेला भई अनसन, धर्ना, घेराउ, जुलुस, प्रदर्शन तथा सभा जस्ता विरोधका कार्यक्रम गर्न पाइने छैन।

प्रमुख जिल्ला अधिकारी ईश्वरराज पौडेलद्वारा जारी आदेशमा विमानस्थल प्रवेश गर्ने गोल्डेन गेटदेखि विमानस्थल परिसरभित्रका सम्पूर्ण सडक, आन्तरिक तथा अन्तर्राष्ट्रिय टर्मिनल क्षेत्र, पार्किङ क्षेत्रलगायत सम्पूर्ण हाताभित्रका स्थानमा उक्त प्रतिबन्ध लागू हुने उल्लेख गरिएको छ।

आदेशमा विमानस्थलजस्तो अत्यन्त संवेदनशील क्षेत्रमा भेला भई विरोध कार्यक्रम गर्दा उत्तेजित भीडबाट तोडफोड, आगजनी जस्ता उच्छृङ्खल गतिविधि हुन सक्ने सम्भावना औंल्याइएको छ।

यद्यपि, निषेध आदेश जारी गरिएका क्षेत्र बाहेकका स्थानमा भने संविधानले प्रत्याभूत गरेको विचार तथा अभिव्यक्तिको स्वतन्त्रता र विना हातहतियार शान्तिपूर्ण रूपमा भेला भई विरोध कार्यक्रममा सहभागी हुने अधिकारप्रति स्थानीय प्रशासन प्रतिबद्ध रहेको आदेशमा उल्लेख छ।

साथै, पूर्वजानकारी गराई गरिने विरोध कार्यक्रमबाट सरकारी, सार्वजनिक वा व्यक्तिगत सम्पत्तिमा क्षति पुगेमा आयोजकबाट क्षतिपूर्ति असुल गरिने चेतावनी पनि प्रशासनले दिएको छ।