काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेको आज मंगलबार पश्चिम नवलपरासीमा हुने भनिएका चुनावलक्षित कार्यक्रमप्रति जिल्ला प्रशासन कार्यालय नवलपरासी पश्चिमले चासो व्यक्त गरेको छ । प्रशासनले निर्वाचन आचारसंहिता विपरीतका कुनै पनि गतिविधि नगर्न र नगराउन निर्देशन दिएको हो ।
सुप्रिम सहकारी ठगी, संगठित अपराध तथा सम्पत्ति शुद्धीकरणसम्बन्धी मुद्दाको तारिख बुझ्न सोमबार जिल्ला अदालत रुपन्देही पुगेका लामिछानेले सोही अवसरमा रुपन्देहीका पाँच निर्वाचन क्षेत्रका करिब दुई दर्जन स्थानमा पुगेर समर्थकहरूसँग भेटघाट गर्नुका साथै केही स्थानमा सम्बोधनसमेत गरेका थिए । यस्तै खालको कार्यक्रम मंगलबार पश्चिम नवलपरासीमा पनि तय गरिएको थियो ।
तर जिल्ला प्रशासन कार्यालय पश्चिम नवलपरासीले सूचना जारी गर्दै निर्वाचन आचारसंहिता विपरीतका कार्यक्रम नगर्न स्पष्ट गरेको छ ।
पश्चिम नवलपरासीका सहायक प्रमुख जिल्ला अधिकारी एवं निर्वाचन आचारसंहिता अनुगमन अधिकृत पोषणराज भण्डारीद्वारा जारी सूचनामा भनिएको छ, “मिति २०८२ साल माघ २७ गते यस जिल्लामा राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेको ‘जनसम्पर्क तथा घण्टी अभिवादन कार्यक्रम’ रहेको सूचना प्राप्त हुन आएकोले सो सम्बन्धमा निर्वाचन आचारसंहिता, २०८२ आकर्षित हुने गरी कुनै पनि आचारसंहिता विपरीतका गतिविधि नगर्नु, नगराउनु हुन सम्बन्धित सबैलाई जानकारी गराइन्छ ।”
