काठमाडौँ । विश्व बजारमा सुनको मूल्य निरन्तर बढ्दै जाँदा नेपालमा पनि सुनको भाउ प्रतितोला तीन लाख रुपैयाँ नाघिसकेको छ । सुनको मूल्य ऐतिहासिक उचाइमा पुगेपछि नेपालमा पाइने सुनको व्यावसायिक उत्खनन सम्भावनाबारे चासो बढ्न थालेको छ ।
विज्ञहरूका अनुसार नेपालमा सुन मुख्यतया ‘प्लेसर गोल्ड’को रूपमा पाइन्छ । खानी तथा भूगर्भ विभागका अनुसार यस्तो सुन नदी–खोलाको बगरमा बालुवाका स–साना कणका रूपमा भेटिने गरेको छ ।
“खोलाहरू, खोलाछेउका ‘टेरेस’ भनिने स्थानहरू तथा खोलाले छाडेका ‘फ्लडप्लेन’ क्षेत्रमा यसरी सुन पाइने गरेको छ । अहिले पनि विभिन्न ठाउँमा स्थानीयले बालुवा चालेर सुन निकाल्ने गरेको देखिन्छ,” विभागका एक अधिकारीले बताए ।
खानी तथा भूगर्भ विभागले ‘प्लेसर गोल्ड’ फेला परेका सम्भावित स्थानहरूको पहिचान गरी नक्साङ्कनसमेत गरिसकेको जनाएको छ । यद्यपि, यस्ता स्थानमा व्यावसायिक रूपमा सुन उत्खनन गर्न थप विस्तृत अध्ययन, प्रविधि र नीतिगत तयारी आवश्यक रहेको विज्ञहरूको भनाइ छ ।