झापा । मेचीनगर नगरपालिका–६ स्थित मेची पुलमा भारतबाट नेपालतर्फ आउँदै गरेको मोटरसाइकल दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ ।
प्रहरीका अनुसार प्र१–०१–०१२ प ३८४९ नम्बरको मोटरसाइकल शुक्रबार राति करिब १० बजे सडकमा राखिएको ब्यारिकेटमा ठोक्किँदा दुर्घटना भएको हो । दुर्घटनामा मोटरसाइकलको पछाडि सवार मेचीनगर–६ निवासी ४० वर्षीय चेतन कटुवालको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय झापाका सूचना अधिकारी खगेन्द्रबहादुर खड्काले जानकारी दिए।
गम्भीर घाइते भएका कटुवाललाई तत्काल उपचारका लागि मेची आम्दा अस्पताल धुलाबारी लगिएको थियो । उपचारकै क्रममा राति १०ः५५ बजे चिकित्सकले मृत घोषणा गरेको प्रहरीले जनाएको छ ।
दुर्घटनामा मोटरसाइकल चालक मेचीनगर–६ निवासी ३५ वर्षीय काशीनाथ पौडेल पनि घाइते हुनुभएको छ । उहाँलाई थप उपचारका लागि बिर्तामोडस्थित बीएन्डसी अस्पताल पठाइएको प्रहरीले जनाएको छ ।
मृतक कटुवालको शव हाल मेची आम्दा अस्पतालमै राखिएको छ । प्रहरीका अनुसार दुर्घटनाको प्रारम्भिक कारण तीव्र गति हुन सक्ने अनुमान गरिएको छ भने घटनाबारे थप अनुसन्धान भइरहेको छ ।