काठमाडौँ । नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले अमर सहिदहरूको बलिदानको मूल्यलाई आफूले कहिल्यै नबिर्सने र राष्ट्रिय स्वाधीनता तथा लोकतन्त्रको रक्षाका लागि सधैँ प्रतिबद्ध रहने बताएका छन् ।
सहिद दिवसका अवसरमा सामाजिक सञ्जालमार्फत सन्देश जारी गर्दै अध्यक्ष ओलीले माघ १६ गते मनाइने सहिद दिवस केवल क्यालेन्डरको एउटा मिति मात्र नभई नेपाली जनताले प्राप्त गरेको स्वतन्त्रता र लोकतान्त्रिक अधिकारको इतिहाससँग गहिरो रूपमा जोडिएको दिन भएको उल्लेख गरेका छन् ।
उनले आजको अवस्थाबाट हेर्दा सहिद दिवस सामान्य मितिजस्तो देखिन सक्ने भए पनि इतिहासमा फर्केर हेर्दा अहिले उपभोग गरिरहेको स्वतन्त्रता ठूलो संघर्ष र बलिदानको परिणाम भएको स्पष्ट हुने बताए ।
वि.सं. १९९७ सालमा प्रजातन्त्रको पक्षमा आवाज उठाउने शुक्रराज शास्त्री, धर्मभक्त माथेमा, दशरथ चन्द र गंगालाल श्रेष्ठलाई निरङ्कुश राणा शासनले मृत्युदण्ड दिएको स्मरण गर्दै अध्यक्ष ओलीले त्यही बलिदानबाट लोकतान्त्रिक आन्दोलनको बीऊ रोपिएको बताए । निरङ्कुश र जहानियाँ शासनको अन्त्य गर्दै आजका लोकतान्त्रिक अधिकार स्थापना गर्न कम्युनिष्ट र कांग्रेसको संयुक्त आन्दोलनले महत्वपूर्ण भूमिका खेलेको उनले उल्लेख गरेका छन् ।
अध्यक्ष ओलीले सन्देशमा भनेका छन्, “निरङ्कुश र जहानियाँ शासनको स्थानमा आजका लोकतान्त्रिक अधिकार स्थापित गर्ने आन्दोलनको बीऊ त्यसरी रोपिएको थियो । कम्युनिष्ट र कांग्रेसको संयुक्त आन्दोलनकै उपज हो आज समाजले प्राप्त गरेको लोकतान्त्रिक अधिकार ।”
सन्देशको अन्त्यमा उनले अमर सहिदहरू दशरथ चन्द, शुक्रराज शास्त्री, धर्मभक्त माथेमा र गंगालाल श्रेष्ठप्रति हार्दिक श्रद्धाञ्जली अर्पण गर्दै सहिदहरूको बलिदानको मूल्य कहिल्यै नबिर्सने र राष्ट्रिय स्वाधीनता तथा लोकतन्त्रको रक्षा गर्ने प्रतिबद्धता व्यक्त गरेका छन् ।