काठमाडौँ । चितवनको मुग्लिन–नारायणगढ सडकखण्डमा आज बिहान रात्री बस दुर्घटना हुँदा ३८ जना यात्रु घाइते भएका छन् ।
दाङबाट काठमाडौँतर्फ आउँदै गरेको लुम्बिनी प्रदेश ०२–००१ ख ०४६६० नम्बरको बस बिहान करिब ३ः१० बजे ‘घुमाउने’ भन्ने स्थानमा अनियन्त्रित भई सडकमै पल्टिएको प्रहरीले जनाएको छ ।
दुर्घटनापछि खटिएको प्रहरी टोलीले तत्काल उद्धार कार्य गरी घाइते यात्रुहरूलाई उपचारका लागि भरतपुर र मुग्लिनका विभिन्न अस्पतालमा पठाएको थियो ।
प्रहरीका अनुसार हाल मौलाकालिका अस्पताल भरतपुरमा १५ जना, पुरानो मेडिकल कलेजमा १३ जना, नयाँ मेडिकल कलेजमा ४ जना र जनता केयर अस्पताल मुग्लिनमा ६ जना घाइतेको उपचार भइरहेको छ ।
बस पल्टिएपछि केही समय अवरुद्ध बनेको सडक अहिले पुनः सञ्चालनमा आइसकेको छ । दुर्घटनाको कारण र थप विवरणबारे अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।