काठमाडौँ । देशमा हाल पश्चिमी वायुको आंशिक प्रभाव रहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।
महाशाखाका अनुसार कोशी र मधेस प्रदेशका केही स्थानमा हुस्सु लागेको छ भने कोशी प्रदेशलगायत देशका पहाडी तथा हिमाली भू–भागमा आंशिक बदली देखिएको छ ।
आज अपराह्न कोशी र गण्डकी प्रदेशका उच्च पहाडी तथा हिमाली क्षेत्रका एक–दुई स्थानमा हल्का वर्षा र हिमपातको सम्भावना रहेको छ । तराई भेगमा भने हुस्सु लाग्ने पूर्वानुमान गरिएको छ । कोशी, बागमती र गण्डकी प्रदेशका उच्च पहाडी तथा हिमाली भागमा आंशिक बदली रहनेछ भने बाँकी भू–भागमा मौसम मुख्यतया सफा रहने जनाइएको छ ।
यसैगरी, कोशी, बागमती र गण्डकी प्रदेशका उच्च पहाडी तथा हिमाली क्षेत्रका केही स्थानमा हल्का वर्षा तथा हिमपातको सम्भावना कायमै रहेको महाशाखाले जनाएको छ ।
आज राति तराईका केही स्थानमा हुस्सु लाग्ने छ भने कोशी, बागमती, गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका उच्च पहाडी तथा हिमाली भागमा आंशिक बदली रहनेछ । बाँकी भू–भागमा भने मौसम सामान्यतया सफा रहने अनुमान गरिएको छ ।
महाशाखाले हिमपात र वर्षाका कारण दैनिक जनजीवन, पर्यटन, स्वास्थ्य, हवाई तथा सडक यातायातमा प्रभाव पर्न सक्ने भन्दै सबैलाई आवश्यक सतर्कता अपनाउन अनुरोध गरेको छ ।