दाङ । दाङको राजपुर गाउँपालिका–४ का वडाध्यक्ष र वडासचिवसहित ६ जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरिएको छ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले सोमबार वडाध्यक्ष रामेश्वर यादव भनिने रामेश्वर अहिर, तत्कालीन कार्यालय सहायक मीना चौधरी, स्थानीय पञ्जिकाधिकारी वडासचिव राजेशकुमार कहार, इलाका प्रशासन कार्यालय लमही दाङका तत्कालीन कार्यालय प्रमुख प्रेमबहादुर खवास तथा भारतीय नागरिक आएसा जोल्हा र आलम जोल्हाविरुद्ध विशेष अदालतमा मुद्दा दायर गरेको हो ।
आयोगका अनुसार नागरिकता प्राप्त गर्न अयोग्य गैरनेपाली व्यक्ति आलम जोल्हालाई राजपुर गाउँपालिका–४ स्थायी ठेगाना भएका दिवंगत सनाउल्ला जोल्हाको छोरा देखाई गैरकानुनी रूपमा नेपाली नागरिकताको प्रमाणपत्र दिलाउने उद्देश्यले उनीहरूले मिलेमतो गरेका हुन् । नागरिकता तथा जन्मदर्ता सिफारिश गर्दा सिफारिश गरिएका व्यक्ति स्थानीय हुन् वा होइनन् भनी जाँचबुझ गर्नुपर्ने दायित्व हुँदाहुँदै सो नगरेको आयोगले जनाएको छ ।
त्यसैगरी, कागजातमा अनाधिकार र गैरकानुनी रूपमा मृत्युदर्ता प्रमाणपत्र सच्याउने, केरमेट गर्ने, थपघट तथा हेरफेर गरी सनाउल्ला जोल्हाको २०३८/०१/१५ गते नै मृत्यु भइसकेकोमा २०४१/०१/१५ गते मात्र मृत्यु भएको भनी झुट्टा व्यहोरा उल्लेख गरिएको मृत्युदर्ता प्रमाणपत्र तयार गराइएको आयोगको आरोप छ ।