शनिबार, कार्तिक २१ २०८३

शनिबार, कार्तिक २१ २०८३

प्रचण्डको एकता आग्रहलाई विप्लवको कटाक्ष : जालझेलको बासी र असफल हुइयाँ

बिहिबार, माघ १५ २०८२

काठमाडौं । नेकपा (माओवादी) का महासचिव नेत्रविक्रम चन्द ‘विप्लव’ले सबै कम्युनिस्ट पार्टीहरूबीच मोर्चा निर्माण र सहकार्यका लागि आफू तयार रहेको बताएका छन् ।

बुधबार नेकपा संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ले एकतामा आउन आग्रह गरेको सन्दर्भलाई लक्षित गर्दै विप्लवले सामाजिक सञ्जालमार्फत सिद्धान्त, कार्यदिशा, कार्यक्रम र उद्देश्य मिल्ने शक्तिसँग एकता गर्न आफू तत्पर रहेको स्पष्ट पारेका हुन् ।

तर उनले चुनावी मोर्चामा समेत सहकार्य गर्न तयार नहुने पार्टीहरूले एकताको चर्चा गर्नु कम्युनिस्ट आन्दोलनमा बारम्बार प्रयोग भइसकेको, काम नलाग्ने जालझेल र असफल प्रयास मात्र भएको टिप्पणी गरेका छन् । यस्तो प्रवृत्तिले भ्रम सिर्जना गर्ने र कम्युनिस्ट आन्दोलनलाई कमजोर बनाउने उनको भनाइ छ ।

विप्लवले भनेका छन्, “चुनावी मोर्चामा समेत सहकार्य गर्न तयार नहुने पार्टीले एकताको चर्चा गर्नु कम्युनिस्ट आन्दोलनमा प्रयोग गर्दा गर्दा थोत्रो भइसकेको काम नलाग्ने जालझेलको बासी र असफल हुइयाँ मात्र हो ।”

उनले अनेकौँ मोर्चागत अनुभवसहित समाजवादी गन्तव्यतर्फ अग्रसर माओवादी पार्टी नै एकता, अग्रगमन र सम्भावनाको केन्द्र भएको दाबीसमेत गरेका छन् ।