मुस्ताङ । मङ्गलबार रातिदेखि मुस्ताङ जिल्लाका विभिन्न भेगमा वर्षासँगै भारी हिमपात भएको छ । हिमपातका कारण डाँडाकाँडा सेताम्मे भएका छन् भने अधिकांश स्थानमा वर्षा पनि भएको छ ।
सशस्त्र प्रहरी कार्यालयका अनुसार भारी हिमपातका कारण कागबेनी–कोरला सडक अवरुद्ध भएको छ । केही स्थानमा दुई फिटभन्दा बढी हिउँ जमेको छ । हिउँ परेसँगै स्याउ, उवा, फापर, जौँ र आलुलगायत बाली सप्रने आशा पलाएको घरपझोङ गाउँपालिकाका कृषि शाखा प्रमुख रोशन थकालीले बताए ।
यसैबीच, सिमकोटस्थित रासस समाचारदाताका अनुसार हुम्ला, मुगु, डोल्पा, जुम्ला र कालिकोट जिल्लामा पनि मङ्गलबार रातिदेखि बाक्लो हिमपात भइरहेको छ । जिल्ला प्रहरी कार्यालय हुम्लाका प्रहरी प्रमुख शङ्कर खड्काका अनुसार सदरमुकाम सिमकोटसहित उच्च भेगमा करिब एक फिट हिउँ जमेको छ ।
हिमपातका कारण हवाई सेवा अवरुद्ध भएको छ भने लिमी, न्यालु, यारी र हिल्सा सडक खण्ड बन्द भएका छन् ।
त्यसैगरी, बाजुराबाट राससकर्मीले जनाएअनुसार जिल्लाका बडीमालिका, बुढीगङ्गा त्रिवेणी, बुढीनन्दा नगरपालिका, हिमाली, खप्तड छेडेदह, गौमुल, स्वामीकार्तिक र जगन्नाथ गाउँपालिकाका लेकाली क्षेत्रमा बाक्लो हिमपात भएको छ ।
हिमपातका कारण हिमाली गाउँपालिकाको विच्छ्या, रुगिन, बाँधु, गौमुल गाउँपालिकाको अल्लिस, दहकोट तथा बुढीनन्दा नगरपालिकाको कुरु गाउँमा जनजीवन प्रभावित भएको छ । वर्षासँगै हिमपात भएपछि गहुँ बाली सप्रने विश्वास बढेको कृषि ज्ञान केन्द्रका प्रमुख जसीराम सहानीले राससलाई जानकारी दिए ।