शनिबार, कार्तिक २१ २०८३

शनिबार, कार्तिक २१ २०८३

निर्वाचन आउन ३६ दिन बाँकीः आचारसंहिता अनुगमनका लागि अनुगमन अधिकृत नियुक्त

बुधबार, माघ १४ २०८२

काठमाडौँ । निर्वाचन आयोगले आगामी प्रतिनिधिसभा निर्वाचनलाई स्वच्छ, निष्पक्ष, पारदर्शी तथा विश्वासनीय रूपमा सम्पन्न गर्न निर्वाचन आचारसंहिता अनुगमनका लागि अनुगमन अधिकृत तोकेको छ।

आयोगका प्रवक्ता नारायणप्रसाद भट्टराईका अनुसार जिल्लास्तरमा आचारसंहिता अनुगमनलाई प्रभावकारी बनाउन सहायक प्रमुख जिल्ला अधिकारीलाई अनुगमन अधिकृतका रूपमा जिम्मेवारी दिइएको छ। सहायक प्रमुख जिल्ला अधिकारीलाई आर्थिक विषय बाहेकका अन्य विषयको अनुगमन गर्ने जिम्मेवारी प्रदान गरिएको आयोगले जनाएको छ।

यसैगरी, आर्थिक विषयसँग सम्बन्धित आचारसंहिता अनुगमनका लागि प्रमुख कोष नियन्त्रक तथा कोष नियन्त्रकलाई फरक–फरक कार्यक्षेत्रसहित अनुगमन अधिकृत तोकिएको छ।

आगामी फागुन २१ गतेका लागि प्रतिनिधिसभा निर्वाचनको मिति तय गरिएको छ। निर्वाचनलाई मर्यादित र विश्वासनीय बनाउन आयोगले निर्वाचन आचारसंहिता, २०८२ कार्यान्वयनमा ल्याएको छ, जुन यही माघ ४ गतेदेखि लागू भइसकेको छ।