शनिबार, कार्तिक २१ २०८३

शनिबार, कार्तिक २१ २०८३

प्रचण्डलाई झलनाथको चेतावनी : नेतृत्वको अधिनायकवादी शैली नरोकिए नेकपा फुट्ने खतरा छ

सोमबार, माघ १२ २०८२

काठमाडौं । नेपाली कम्युनिस्ट पार्टी (नेकपा) का नेता झलनाथ खनालले पार्टी नेतृत्वको अधिनायकवादी कार्यशैली नरोकिए पार्टी विभाजनतर्फ जाने खतरा रहेको चेतावनी दिएका छन् ।

सामाजिक सञ्जाल फेसबुकमार्फत प्रतिक्रिया जनाउँदै खनालले नेता हरिबोल गजुरेलमाथि गरिएको कारबाहीप्रति कडा आपत्ति व्यक्त गरे। उक्त निर्णय फिर्ता नभए पार्टी एकीकरण भई नसक्दै नेकपा विशृङ्खलतातर्फ जाने गम्भीर जोखिम रहेको उनको भनाइ छ ।

खनालले गजुरेलजस्ता वरिष्ठ नेतालाई स्पष्टीकरणको मौकासमेत नदिई निष्कासन गर्नु आश्चर्यजनक र अत्यन्त कठोर निर्णय भएको टिप्पणी गरेका छन् । साथै पार्टीका अन्य घटकका नेताहरूलाई जानकारी नै नदिई सञ्चारमाध्यममार्फत कारबाहीको खबर सार्वजनिक गर्नु विधि र पद्धतिविपरीत भएको उल्लेख गरेका छन् ।

पार्टी एकता घोषणा भएको लामो समय बितिसक्दा पनि नेतृत्वदायी कमिटी गठन हुन नसकेको र संस्थागत निर्णय प्रक्रिया विकास नभएको खनालको आरोप छ । एक–दुई व्यक्तिको चाहनामा ठूला निर्णय हुन थालेको भन्दै उनले पार्टीभित्र लोकतान्त्रिक अभ्यास कमजोर हुँदै गएको बताएका छन् ।

नेता खनालले हरिबोल गजुरेलमाथिको कारबाही तत्काल फिर्ता लिन र नेतृत्व तहका नेताहरूको आकस्मिक बैठक बोलाउन पार्टी संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’सँग माग गरेका छन् ।

फेसबुक स्टाटसमा उनले लेखेका छन्, “नेपाली कम्युनिष्ट पार्टीलाई सच्चा कम्युनिष्ट पार्टी बनाउने हो भने यस्ता कारबाही अविलम्ब स्थगित गर्न, क. हरिबोल गजुरेलसहित नेतृत्व तहका कमरेडहरूको आकस्मिक बैठक बोलाउन र यस घटनाक्रमबारे पार्टीभित्र गम्भीर तथा दोहोरो छलफल आवश्यक छ । अधिनायकवादी शैली होइन, सामूहिक निर्णय र नेतृत्व प्रणाली स्थापित गर्न म जोडदार माग गर्दछु ।”