शनिबार, कार्तिक २१ २०८३

शनिबार, कार्तिक २१ २०८३

राष्ट्रियसभाका १७ सदस्य चयनका लागि सातै प्रदेशमा मतदान सुरु

आइतबार, माघ ११ २०८२

काठमाडौँ । राष्ट्रियसभामा रिक्त सदस्य चयनका लागि सातै प्रदेशमा आज मतदान सुरु भएको छ। निर्वाचन आयोगका अनुसार २०८२ फागुन २० गतेदेखि राष्ट्रियसभाका १८ सिट रिक्त रहेकामा एक पदमा निर्विरोध चयन भइसकेको र बाँकी १७ पदका लागि आज निर्वाचन भइरहेको हो।

बिहान ९ः०० बजेदेखि सुरु भएको मतदान दिउँसो ३ः०० बजेसम्म सञ्चालन हुने आयोगका प्रवक्ता नारायणप्रसाद भट्टराईले जानकारी दिए। रिक्त १८ पदमध्ये कोशी प्रदेशको खस आर्य समूहअन्तर्गत एक पदमा नेपाली कांग्रेसका सुनिलबहादुर थापा निर्विरोध निर्वाचित भइसकेकाले आज १७ पदका लागि मात्र मतदान भइरहेको हो।

बाँकी १७ पदका लागि सातै प्रदेशका राजधानीमा तोकिएका मतदानस्थल तथा मतदान केन्द्रमा मतदान सुरु भएको छ। कोशी प्रदेशमा प्रदेश निर्वाचन कार्यालय परिसर विराटनगर (मोरङ), मधेस प्रदेशमा महेन्द्रनारायण निधि मिथिला संस्कृति केन्द्र जनकपुर उपमहानगरपालिका–४ (धनुषा) र बागमती प्रदेशमा भुटनदेवी माध्यमिक विद्यालय हेटौँडा उपमहानगरपालिका–४ (मकवानपुर) मा मतदान भइरहेको छ।

त्यसैगरी गण्डकी प्रदेशमा प्रदेश निर्वाचन कार्यालय पोखरा (कास्की), लुम्बिनी प्रदेशमा कर्मचारी मिलन केन्द्र घोराही (दाङ), कर्णाली प्रदेशमा प्रदेश निर्वाचन कार्यालय परिसर वीरेन्द्रनगर (सुर्खेत) र सुदूरपश्चिम प्रदेशमा प्रदेश निर्वाचन कार्यालय परिसर धनगढी (कैलाली) मा मतदान भइरहेको निर्वाचन आयोगले जनाएको छ।

राष्ट्रियसभा सदस्य निर्वाचनमा प्रदेशसभा सदस्य, नगरप्रमुख तथा उपप्रमुख र गाउँपालिका अध्यक्ष तथा उपाध्यक्ष मतदाता रहने व्यवस्था छ। यसअनुसार प्रदेशसभा सदस्यको मतभार ५३ र स्थानीय तहका प्रमुख तथा उपप्रमुखको मतभार १९ कायम गरिएको छ। ती मतदाताले तोकिएका मतदानस्थलमा मतदान गरिरहेका छन्।