काठमाडौँ । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले आफू पब्लिक डिबेटका लागि तयार रहेको बताइरहेका बेला प्रधानमन्त्रीको उम्मेदवारका रूपमा चर्चा गरिएका राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का वरिष्ठ नेता बालेन्द्र शाह (बालेन)ले डिबेटमा सहभागी नहुने प्रतिक्रिया दिएका छन्।
आइतबार बिहान सामाजिक सञ्जालमा अध्यक्ष ओलीले राखेको सन्देशप्रति प्रतिक्रिया जनाउँदै बालेनले लेखेका छन्, “७६ जना बच्चाको हत्यारा र उसको मतियारसँग एउटै मञ्चमा उभिनु भनेको म पनि त्यसमा सामेल भएको बुझिनेछ।” यस अभिव्यक्तिसँगै उनले पब्लिक डिबेटमा नजाने स्पष्ट संकेत गरेका छन्।
बालेनले सोही सन्देशमार्फत ओलीलाई लक्षित गर्दै थप कडा टिप्पणीसमेत गरेका छन्। उनले लेखेका छन्, “आफूलाई देश जलाउनेको रूपमा स्वीकारेको ठीकै छ, हुन पनि नेताहरूको घर कता कता छन् तपाईंहरूलाई नै थाहा थियो। तपाईंहरूले आफैँ २३ गते बच्चाहरू मारेको आतङ्कवाद लुकाउन २४ गते जलाएको हो। आफूलाई आतङ्कवादी चाहिँ कहिले स्वीकार्ने हो ? त्यो पछि अरू कुरा गरौँला।”
उनको यस प्रतिक्रियापछि पब्लिक डिबेटको विषयलाई लिएर राजनीतिक वृत्तमा थप बहस चर्किने संकेत देखिएको छ।
