काठमाडौँ । निर्वाचन आयोगले समानुपातिक निर्वाचन प्रणालीतर्फ एक करोड ५० लाख थान मतपत्र छपाइ सम्पन्न भइसकेको जनाएको छ। अब ५० लाख थान मतपत्र छपाइ गर्न बाँकी रहेको आयोगले जानकारी दिएको छ।
समानुपातिकतर्फको मतपत्र छपाइ कार्य यही माघ २ गतेदेखि जनक शिक्षा सामग्री केन्द्र लिमिटेडको छापाखानामा सुरु भएको थियो। बाँकी मतपत्र छपाइ सम्पन्न भएलगत्तै प्रत्यक्ष निर्वाचन प्रणालीतर्फको मतपत्र छपाइ सुरु गरिने आयोगले जनाएको छ।
आयोगका अनुसार प्रत्यक्षतर्फका उम्मेदवारको अन्तिम नामावली तय भइसकेको छ। मनोनयनपत्र दर्ता प्रयोजनका लागि एक प्रति मतदाता नामावली छपाइ गरी सबै जिल्लामा वितरण गरिसकिएको छ।
आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनका लागि तीन हजार ४०६ जना उम्मेदवारको नामावली आयोगले सार्वजनिक गरेको छ। आयोगले शुक्रबार नै उम्मेदवारहरूलाई निर्वाचन चिह्नसमेत प्रदान गरिसकेको जनाएको छ।
आयोगका प्रवक्ता नारायणप्रसाद भट्टराईका अनुसार उम्मेदवारमध्ये तीन हजार १७ जना पुरुष, ३८८ जना महिला तथा अन्यतर्फ एक जना रहेका छन्। उम्मेदवारी दर्तादेखि फिर्ता लिने प्रक्रियासम्म निर्वाचन कार्यक्रम शान्तिपूर्ण र उत्साहजनक रूपमा सम्पन्न भएको आयोगको भनाइ छ।
यसैबीच, समानुपातिक निर्वाचन प्रणालीअन्तर्गतका उम्मेदवारको नामावलीसमेत प्रकाशित भइसकेको आयोगले जनाएको छ।