शनिबार, कार्तिक २१ २०८३

शनिबार, कार्तिक २१ २०८३

पाथीभरा पूजामा पुगेका बालेन शाहमाथि एमाले सचिव महेश बस्नेतको आपत्ति

हिन्दु संस्कार अनुसार आफन्त बितेपछि पूजा–दर्शन गर्न मिल्छ?

शुक्रबार, माघ ९ २०८२

काठमाडौं । नेकपा एमालेका सचिव महेश बस्नेतले झापा–५ बाट राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का उम्मेदवार बालेन शाहले पाथीभरा मन्दिर पुगेर पूजा–आराधना गर्नु अनुचित भएको टिप्पणी गरेका छन् ।

शुक्रबार बिहान बालेन शाहले पाथीभरामा पूजा गरेपछि बस्नेतले सामाजिक सञ्जालमार्फत हिन्दु धर्म र संस्कारको दृष्टिले यस्तो गतिविधि गलत भएको धारणा सार्वजनिक गरेका हुन् । उनले शाहलाई पितृशोक परेको अवस्थामा करिब एक वर्षसम्म अशौच (जुठो) मानिने र यस अवधिमा देवदर्शन, पूजा–पाठ तथा ठूला धार्मिक कर्म निषेध हुने हिन्दु मान्यता रहेको उल्लेख गरेका छन् ।

बस्नेतले सामाजिक सञ्जालमा लेख्दै प्रश्न–उत्तर शैलीमा आफ्नो धारणा राखेका छन् । उनले “बा–आमा वा नजिकको आफन्त बितेपछि एक वर्षसम्म पूजा–दर्शन गर्न मिल्दैन” भन्ने हिन्दु संस्कार रहेको दाबी गर्दै चुनावको मुखमा पाथीभरा दर्शन गर्नु संस्कारविपरीत र बेठिक भएको टिप्पणी गरेका छन् ।

उनका अनुसार आस्था निजी विषय भए पनि धर्मलाई चुनावी प्रचारको साधन बनाउनु नैतिक रूपमा गलत र संस्कारविपरीत हुन्छ । बस्नेतको यो अभिव्यक्तिपछि धार्मिक आस्था, व्यक्तिगत विश्वास र चुनावी गतिविधिबीचको सीमाबारे सामाजिक सञ्जालमा बहस सुरु भएको छ ।