काठमाडौँ । प्रत्येक वर्ष माघ शुक्लपञ्चमीका दिन मनाइने ‘श्रीपञ्चमी’ पर्वका अवसरमा विद्याकी अधिष्ठात्रीदेवी सरस्वतीको पूजा–आराधना गर्न देशभरका सरस्वती मन्दिरमा बिहानैदेखि भक्तजनको घुइँचो लागेको छ ।
शास्त्रीय मान्यताअनुसार आजका दिन निष्ठापूर्वक सरस्वतीको पूजा गरेमा विद्या प्राप्त हुने विश्वास छ । राजधानीका लाजिम्पाटस्थित नील सरस्वतीस्थान, स्वयम्भूस्थित सरस्वती मन्दिर, डिल्लीबजार सरस्वती मन्दिर, ललितपुर–लेलेस्थित सरस्वती कुण्ड लगायत ठूला–साना मन्दिरमा बिहानैदेखि भक्तजनको भीड लागेको छ ।
मैतीदेवी मन्दिर क्षेत्रमा पनि भक्तजनको लाम लागेको छ भने काठमाडौँ महानगरपालिका–३० का अध्यक्ष समेत रहेका मन्दिर व्यवस्थापन समितिका अध्यक्ष दलबहादुर कार्कीले जानकारी दिए। उपत्यकाबाहिरका मन्दिरमा पनि भक्तजनको उपस्थिती उल्लेखनीय रहेको छ ।
विद्याका देवी सरस्वतीलाई भारती, शारदा, हंसबाहिनी, जगन्माता, वागीश्वरी, कौमारी, बरदायिनी, बुद्धिदात्री, ब्रह्मचारिणी, चन्द्रघण्टा र भुवनेश्वरी जस्ता नामले पुकारिन्छ । विशेषगरी साहित्यकार, कलाकार, शिक्षक, पत्रकार र विद्यार्थी आ–आफ्ना कलासाधन, कलम, कापी, कुची, वाद्ययन्त्र आदिलाई देवीको रूपमा पूजाआजा गर्छन् ।
आजको दिन सूर्य उत्तरतिर लाग्ने र वसन्त ऋतुको प्रारम्भ हुने विश्वासका कारण ‘वसन्त पञ्चमी’ पनि भनिन्छ । ऋग्वेदमा वाग्देवीको रूपमा उल्लेखित ब्रह्मायणीको पूजा गर्दा ज्ञान, सिद्धि र सद्बुद्धि प्राप्त हुने धार्मिक विश्वास छ । यसैकारण सरस्वती पूजालाई विशेष महत्व दिइन्छ ।
शिशु शिक्षा आरम्भ, नाक–कान छेड्ने जस्ता सामाजिक तथा धार्मिक कार्यका लागि पनि आजको दिन शुभ मानिन्छ । तर यसवर्ष शुक्र अस्त भएकाले विवाह, व्रतबन्ध र बेलविवाह (इही) जस्ता कार्य नगर्ने परम्परा कायम रहेको छ ।
धार्मिक विश्वासअनुसार सरस्वतीलाई चढाइएको सात गेडा अक्षता निलेमा विद्या र बुद्धि स्फुरण भई चेतनाको ज्योति प्राप्त हुन्छ भन्ने मान्यता छ । यसैले देशभरका मन्दिरमा आज छात्रछात्रादेखि वृद्ध–वृद्धासम्म भक्तजन बिहानैदेखि पूजा–आराधनामा जुटेका छन् ।