पार्टीका सबै गतिविधि सानेपाबाटै अघि बढ्ने
काठमाडौं । नेपाली कांग्रेसको केन्द्रीय कार्यसमिति बैठक आज (शुक्रबार) बस्दै छ । पार्टी केन्द्रीय कार्यालय सानेपामा दिउँसो १ बजे बस्ने बैठक गगन थापा नेतृत्वको नयाँ कार्यसमितिको पहिलो औपचारिक बैठक हो । पार्टी कार्यालयका सचिव प्रकाश शर्माले सूचना जारी गर्दै विशेष महाधिवेशनबाट निर्वाचित केन्द्रीय कार्यसमिति सदस्य तथा प्रदेश सभापतिहरूलाई बैठकका लागि बोलाइएको जानकारी दिएका छन्।
आजै सभापति गगन थापा सहित पदाधिकारीहरूले औपचारिक रूपमा पदभार ग्रहण गर्ने कार्यक्रम छ । पदभार ग्रहणपछि केन्द्रीय कार्यालय सानेपामै कार्यसमिति बैठक बस्ने पार्टीले जनाएको छ । यससँगै कांग्रेसका सम्पूर्ण गतिविधि अब सानेपाबाट सञ्चालन हुनेछ । आज दिउँसो पदबहालीपछि केन्द्रीय कार्यसमिति बैठक बस्छ । शुक्रबारदेखि पार्टीका सबै गतिविधि सानेपाबाटै अघि बढ्ने बताइएकाे छ ।
विशेष महाधिवेशनमार्फत पुस ३० गते शेरबहादुर देउवा नेतृत्वको कार्यसमिति विघटन गर्दै गगन थापाको नेतृत्वमा नयाँ केन्द्रीय कार्यसमिति चयन गरिएको थियो । तर, नयाँ कार्यसमिति निर्वाचित भएयता पहिलोपटक मात्र केन्द्रीय कार्यालयमा बैठक बस्न लागेको हो । यसअघि कांग्रेसका केन्द्रीय समिति बैठकहरू कुपण्डोल र नयाँ बानेश्वरमा बसेका थिए ।
विशेष महाधिवेशनपछि कांग्रेसभित्र विवाद चुलिएको थियो । देउवा र पूर्णबहादुर खड्का लगायत नेताहरूले नयाँ कार्यसमितिलाई अवैधानिक भन्दै सर्वोच्च अदालतमा अन्तरिम आदेशको माग गरेका थिए । तर अदालतले अन्तरिम आदेश दिन अस्वीकार गरिसकेको छ । निर्वाचन आयोगले पनि विशेष महाधिवेशनमार्फत गठित गगन थापा नेतृत्वको पक्षलाई नेपाली कांग्रेसको आधिकारिकता प्रदान गर्दै चारतारे झण्डा र रूख चुनाव चिह्न दिने निर्णय गरेको छ । यससँगै विवाद कानुनी र संस्थागत रूपमा टुंगिएको निष्कर्ष धेरैको छ ।
यद्यपि देउवा नेतृत्वको पक्षले आयोगको निर्णय अस्वीकार गर्दै न्यायिक, राजनीतिक र अन्य सबै उपाय अपनाउने घोषणा गरिरहेको छ । विशेष महाधिवेशनका बेला केही समय केन्द्रीय कार्यालय घेराउसमेत गरिएको थियो । तर पछिल्लो समय देउवा पक्षकै नेताहरू गगन थापाले बाँडेको टिकट लिएर चुनावी मैदानमा होमिएका छन्, जसले पार्टीभित्रको व्यवहारिक यथार्थ फरक देखाएको छ ।
आज बस्ने केन्द्रीय कार्यसमिति बैठकले सभापति गगन थापालाई पार्टीको भावी प्रधानमन्त्री उम्मेदवार घोषणा गर्ने निर्णय गर्ने नेताहरूको दाबी छ । आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनका लागि थापा सर्लाही–४ बाट उम्मेदवार बनेका छन् ।
कांग्रेसभित्रको विवाद एकाएक उत्पन्न भएको नभई लामो समयदेखि चुलिँदै आएको असन्तुष्टि र नेतृत्वप्रति उठेका प्रश्नको परिणाम भएको विश्लेषण हुँदै आएको छ । गगन थापा र विश्वप्रकाश शर्मासहितको समूहले विधि, विधान र समयानुकूल सुधारको माग गर्दै ५४ प्रतिशत महाधिवेशन प्रतिनिधिको हस्ताक्षरसहित विशेष महाधिवेशनको माग अघि सारेका थिए । त्यसलाई गम्भीर रूपमा नलिँदा पार्टी निर्णायक मोडमा पुगेको धेरैको बुझाइ छ ।
निर्वाचन आयोगको निर्णयपछि कांग्रेसभित्र नयाँ यथार्थ स्थापित भएको छ । चारतारे झण्डा र रूख जहाँ छ, त्यही कांग्रेस हो भन्ने धारणा बलियो बन्दै गएको छ । तर देउवा पक्ष अदालत जाने वा नयाँ पार्टी दर्ता गर्ने बाटो रोजेमा त्यसलाई औपचारिक विभाजनकै रूपमा बुझिन सक्ने चिन्ता पनि उत्तिकै छ ।
यस्तो संवेदनशील घडीमा नयाँ नेतृत्वले यसलाई विभाजनभन्दा पनि परिमार्जन, पुस्तान्तरण र रूपान्तरणको रूपमा बुझाउँदै पार्टीलाई एकताबद्ध राख्न सक्ने कि नसक्ने भन्ने प्रश्न केन्द्रमा आएको छ । हिजो पार्टीलाई एकताबद्ध राख्ने जिम्मेवारी देउवाको काँधमा थियो, जुन असफल भएको आलोचना छ । आज त्यो जिम्मेवारी कानुनतः गगन थापा र विश्वप्रकाश शर्माको काँधमा पुगेको छ ।
नेपाली कांग्रेस नेपालको परिवर्तनकारी राजनीतिको मेरुदण्ड मानिन्छ । त्यसैले आरोप–प्रत्यारोप र गालीगलौजभन्दा माथि उठेर समयको मागअनुसार एकताबद्ध भएर अघि बढ्न सके कांग्रेसले पुनः राष्ट्रिय राजनीतिको मार्गदर्शक भूमिका निर्वाह गर्न सक्ने अपेक्षा धेरैले गरेका छन् ।