शनिबार, कार्तिक २१ २०८३

शनिबार, कार्तिक २१ २०८३

भक्तपुरको बाल सुधारगृहमा झडपपछि आगजनी र तोडफोड

शुक्रबार, माघ ९ २०८२

भक्तपुर । मध्यपुरथिमि नगरपालिका–२, सानोथिमिमा रहेको बाल सुधारगृहमा गएराति झडप भई आगजनी तथा तोडफोड भएको छ ।

सुधारगृहभित्र रहेका दुई समूहबीच भएको विवाद झडपमा परिणत भई आगजनी र तोडफोडको अवस्था सिर्जना भएको हो । झडपको सूचना पाएपछि थिमि प्रहरी वृत्तका प्रमुख नवराज ढुङ्गानाको नेतृत्वमा पुगेको प्रहरी टोलीले स्थिति नियन्त्रणमा लिने प्रयास गरेको थियो ।

तर झडपमा संलग्न दुवै समूहले प्रहरीमाथि ढुङ्गामुढा गरेपछि अवस्था थप तनावग्रस्त बनेको थियो । स्थिति नियन्त्रण बाहिर गएपछि सशस्त्र प्रहरी बलका ५० जना सुरक्षाकर्मी परिचालन गरिएको जनाइएको छ ।

मध्यराततिर भक्तपुर र काठमाडौंका वारुणयन्त्रको सहयोगमा आगो नियन्त्रणमा लिइएको थियो । सुधारगृहमा भएको क्षतिको विस्तृत विवरण भने आउन बाँकी रहेको थिमि प्रहरी वृत्तले जनाएको छ ।

उक्त बाल सुधारगृहमा हाल १४५ जना पुरुष र २४ जना महिला गरी जम्मा १६९ जना रहेको बताइएको छ । अहिले अवस्था नियन्त्रणमा आएको भए पनि सम्भावित जोखिमलाई ध्यानमा राख्दै बाक्लो संख्यामा सुरक्षाकर्मी परिचालन गरी निगरानी बढाइएको छ ।