काठमाडौँ । देशमा पश्चिमी वायुको आंशिक प्रभाव कायम रहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । यसको प्रभावस्वरूप आज देशका विभिन्न भागमा मौसम बदली हुने पूर्वानुमान गरिएको छ ।
आज दिउँसो कर्णाली र सुदूरपश्चिम प्रदेशमा सामान्यतया बदली रहनेछ भने बाँकी प्रदेशका पहाडी भू–भागमा आंशिक बदलीको अवस्था रहनेछ । तराईका अधिकांश स्थानमा भने मौसम मुख्यतया सफा रहने अनुमान गरिएको छ ।
महाशाखाका अनुसार सुदूरपश्चिम प्रदेशका केही स्थानमा मध्यम वर्षा हुन सक्ने सम्भावना छ । साथै कर्णाली र सुदूरपश्चिम प्रदेशका उच्च पहाडी तथा हिमाली भू–भागका केही स्थानमा हल्का हिमपात हुन सक्नेछ ।
त्यसैगरी, आज राति बागमती, गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशमा सामान्यतया बदली रहने पूर्वानुमान गरिएको छ भने बाँकी भू–भागमा आंशिक बदली रहनेछ । लुम्बिनी, कर्णाली, सुदूरपश्चिम तथा गण्डकी प्रदेशका केही स्थानमा मेघगर्जन र चट्याङसहित मध्यम वर्षा हुने सम्भावना रहेको छ ।
गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशका उच्च पहाडी तथा हिमाली क्षेत्रका केही स्थानमा मेघगर्जन र चट्याङसहित मध्यम हिमपातको सम्भावना पनि रहेको महाशाखाले जनाएको छ । साथै गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका एक–दुई स्थानमा असिनासहित वर्षा हुन सक्ने अनुमान गरिएको छ ।
मौसमको यस परिवर्तनले दैनिक जनजीवन, पर्यटन, स्वास्थ्य सेवा तथा हवाई र सडक यातायातमा असर पर्न सक्ने भएकाले आवश्यक सतर्कता अपनाउन जल तथा मौसम पूर्वानुमान महाशाखाले सबैलाई आग्रह गरेको छ ।