काठमाडाैं । विगतका चुनावमा गठबन्धन गरेका दलहरू—नेपाली कांग्रेस, नेकपा एमाले र नेपाली कम्युनिष्ट पार्टी (नेकपा) लगायत—यसपटक अलग–अलग उम्मेदवार प्रस्तुत गरेका छन्। कुनै दलले यसपटक गठबन्धन नगरेको र नयाँ प्रतिस्पर्धी शक्तिहरू चुनावी मैदानमा देखिएको छ। तर चुनाव अघि नै धेरै दलहरुले एकता भने गरेका थिए ।
विगतका संसद्मा प्रतिनिधित्व गरेका ठूला दलहरू नेपाली कांग्रेस, नेकपा एमाले, माओवादी केन्द्रलगायत दलहरूले एक्लाएक्लै रूपमा उम्मेदवार उठाएका छन् । यद्यपि, मधेसकेन्द्रित केही दलहरू भने यसपटक पनि संयुक्त चुनाव चिह्नमार्फत प्रतिस्पर्धामा छन् ।
झापा–५ बाट उम्मेदवारी दर्ता गराएका बालेन्द्र साहले एमाले अध्यक्ष केपी शर्मा ओलीलाई पराजित गर्ने लक्ष्य राखेको उल्लेख गरेका छन्। साहले राष्ट्रिय स्वतन्त्र पार्टीको “घण्टी” चिह्नबाट चुनाव लड्न काठमाडौं महानगरको मेयर पदबाट राजीनामा दिएका थिए। अर्कोतर्फ, हर्क साम्पाङको श्रम संस्कृति पार्टीबाट समीर तामाङले ओली र साह दुवैलाई हराउने दाबी गरेका छन्।
नेपाली कांग्रेसका प्रवक्ता देवराज चालिसेले पार्टी नेतृत्व परिवर्तनको एजेन्डा अनुरूप देशभर एकल उम्मेदवार दिएको र “रूख” चिह्नमा मत हाल्ने अवसर मतदातालाई उपलब्ध गराएको बताए। उनले भने, “अघिल्ला केही निर्वाचनमा हाम्रो पार्टीको चुनाव चिह्नमा मतदान गर्न नपाउने स्थिति थियो, यस पटक त्यस परम्परालाई तोडेका छौँ।”
नेकपा एमालेका प्रचार विभाग संयोजक मीनबहादुर शाहीले भने, “गठबन्धनबारे अहिलेसम्म कुनै वार्ता भएको छैन। हामी देशका १६५ निर्वाचन क्षेत्रमा आफ्नो रणनीति अनुसार उम्मेदवार प्रस्तुत गरेका छौँ र एमालेलाई निर्णायक राष्ट्रिय शक्ति बनाउने प्रतिबद्धता छ।”
नेकपाले बागलुङको एउटा निर्वाचन क्षेत्रमा राष्ट्रिय जनमोर्चासँग आंशिक गठबन्धन गरेको छ। अघिल्ला निर्वाचनमा ठूला गठबन्धनबीच प्रतिस्पर्धा हुने प्रचलन रहेको थियो। तथापि, उम्मेदवारी दर्ता हुँदा गठबन्धन नभए पनि फिर्ती अवधिसम्म कुनै पनि दलसँग गठबन्धनको सम्भावना खुला रहेको नेताहरूले दाबी गरेका छन्।
मधेसकेन्द्रित दलहरूले गठन गरेको संघीय लोकतान्त्रिक मोर्चामा पनि यसपटक चुनावी तालमेल हुन सकेको छैन। चुनाव घोषणा भएपनि मोर्चाभित्र सहमति जुट्न नसकेपछि नेताहरू एकअर्काविरुद्ध प्रतिस्पर्धामा उत्रिएका छन्।