काठमाडौँ । आज प्रतिनिधिसभा सदस्य पदका लागि उम्मेदवारी दिएका उम्मेदवारको नामावली प्रकाशन हुने भएको छ ।
निर्वाचन आयोगको निर्वाचन कार्यतालिका अनुसार पहिलो हुने निर्वाचित हुने निर्वाचन प्रणालीतर्फ मनोनयन पत्र दर्ता भएका उम्मेदवारविरुद्ध उजुरी दिने म्याद सकिएपछि आयोग नामावली तयारीमा जुटेको हो । आयोगका अनुसार साँझ ५ बजेदेखि ७ बजेसम्म उम्मेदवारको नामावली प्रकाशन गरिनेछ ।
निर्वाचन आयोगमा हाल पाँच जना उम्मेदवारविरुद्ध उजुरी परेको छ । आयोगका अनुसार भक्तपुर, सुनसरी, रौतहट र कैलाली निर्वाचन क्षेत्रबाट उम्मेदवारी दिएका उम्मेदवारविरुद्ध उजुरी दर्ता भएका छन् ।
आयोगका अनुसार भोलि माघ ९ गते दिउँसो १ बजेदेखि ३ बजेसम्म उम्मेदवारको अन्तिम नामावली प्रकाशन गरिनेछ । त्यसपछि दिउँसो ४ बजेदेखि साँझ ७ बजेसम्म उम्मेदवारलाई निर्वाचन चिह्न प्रदान गर्ने कार्यक्रम तय गरिएको छ ।