पाँच उम्मेदवारविरुद्ध निर्वाचन आयोगमा उजुरी
काठमाडाैं । आगामी फागुन २१ गते हुने प्रतिनिधिसभाको निर्वाचनमा नेपाली कांग्रेसका निवर्तमान सभापति तथा पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाबाहेक अन्य समकालीन अधिकांश हेभिवेट नेताहरू यसपटक पनि प्रतिनिधिसभा निर्वाचनको चुनावी प्रतिस्पर्धामा उत्रिएका छन् ।
कांग्रेस सभापति गगनकुमार थापा सर्लाही–४ बाट उम्मेदवार बनेका छन् भने नेकपा एमाले अध्यक्ष एवं निवर्तमान प्रधानमन्त्री केपी शर्मा ओली झापा–५ बाट चुनावी मैदानमा छन्। साेही क्षेत्रबाट काठमाडाैं महानगरपालिकाका पूर्व मेयर बालेन शाह पनि रास्वपाबाट चुनावी मैदानमा छन् ।
नेपाली कम्युनिष्ट पार्टी (नेकपा)का संयोजक तथा पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल माओवादी विद्रोहको उद्गम थलो रुकुम पूर्वबाट निर्वाचन लड्ने तयारीमा छन् । पूर्वप्रधानमन्त्री माधवकुमार नेपाल रौतहट–१ बाट उम्मेदवार बनेका छन् ।यता नेकपाकै वरिष्ट नेता एवं पूर्वप्रधानमन्त्री झलनाथ खनाल भने उम्मेदवार बनेका छैनन् ।
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति तथा पूर्वगृहमन्त्री रवि लामिछाने चितवन–२ बाट प्रतिस्पर्धामा रहेका छन् । पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराई गोरखा–२ बाट प्रतिनिधिसभा निर्वाचन लड्दै छन् ।
‘जेन–जी’ आन्दोलनपछि गठित सरकारमा तीन मन्त्रालयको जिम्मेवारी सम्हालेका कुलमान घिसिङ काठमाडौं–३ बाट पहिलोपटक संसदीय निर्वाचनमा प्रतिस्पर्धा गर्दै छन् । धरान उपमहानगरपालिकाको प्रमुख पदबाट राजीनामा दिएर हर्क साम्पाङ सुनसरी–१ बाट निर्वाचन लड्दै छन् ।
यसैगरी, पूर्वप्रधानमन्त्री पुष्पकमल दाहालकी पुत्री रेणु दाहाल चितवन–३ बाट चुनावी प्रतिस्पर्धामा उत्रिने भएकी छन् । जनमत पार्टीका अध्यक्ष सिके राउत सप्तरी–२ बाट उम्मेदवार बन्नुभएको छ भने जसपा नेपालका अध्यक्ष उपेन्द्र यादव सप्तरी–३ बाट उम्मेदवार बनेका छन् ।
राप्रपाका अध्यक्ष राजेन्द्र लिङ्देन झापा–३, राप्रपा नेता कमल थापा काठमाडौं–५, एमाले महासचिव शंकर पोखरेल दाङ–२, कांग्रेस महामन्त्री प्रदीप पौडेल काठमाडौं–५ र एमालेका पूर्ववरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेल पनि काठमाडौं–५ बाट उम्मेदवार बनेका छन् ।
यसबीच, नेकपा माओवादीका महासचिव नेत्रविक्रम चन्द ‘विप्लव’ भने यसपटक चुनावी प्रतिस्पर्धाबाट बाहिरिएका छन् ।
पाँच उम्मेदवारविरुद्ध निर्वाचन आयोगमा उजुरी
विभिन्न निर्वाचन क्षेत्रका पाँच जना उम्मेदवारविरुद्ध निर्वाचन आयोगमा उजुरी दर्ता भएको छ ।
निर्वाचन आयोग स्रोतका अनुसार भक्तपुर निर्वाचन क्षेत्र नम्बर २ बाट उम्मेदवार रहेका दुई जनाविरुद्ध उजुरी परेको छ । ती उम्मेदवारमध्ये राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का राजीव खत्री र नेपाल जनसेवा पार्टीबाट उम्मेदवार रहेकी जानुका पाठकविरुद्ध उजुरी परेको हो ।
यसैगरी, पूर्वप्रधानमन्त्री माधवकुमार नेपालको उम्मेदवारीविरुद्ध पनि उजुरी दर्ता भएको छ । उहाँ रौतहट निर्वाचन क्षेत्र नम्बर १ बाट उम्मेदवार हुनुहुन्छ ।
कैलाली निर्वाचन क्षेत्र नम्बर १ बाट उम्मेदवार रहेका नागरिक उन्मुक्ति पार्टी नेपालका रेशम चौधरीविरुद्ध पनि उजुरी परेको आयोगले जनाएको छ । त्यस्तै, सुनसरी निर्वाचन क्षेत्र नम्बर २ बाट उम्मेदवार रहेका राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का लालबिक्रम थापाविरुद्ध समेत उजुरी दर्ता भएको छ ।
निर्वाचन आयोगका अनुसार प्राप्त उजुरीहरूमाथि हाल अध्ययन भइरहेको छ । आयोगले कुन उम्मेदवारविरुद्ध के विषयमा उजुरी परेको हो भन्ने विवरण भने सार्वजनिक गरेको छैन ।
अन्तरिम सरकारका चार मन्त्री चुनावी मैदानमा
सुशीला कार्की नेतृत्वको वर्तमान अन्तरिम सरकारका चार जना मन्त्रीले पदबाट राजीनामा दिएर प्रतिनिधिसभा निर्वाचनमा प्रतिस्पर्धा गर्ने घोषणा गरेका छन् ।
गत २३ र २४ भदौमा भएको ‘जेन–जी’ आन्दोलनको बलमा पूर्वप्रधानन्यायाधीश सुशीला कार्कीको नेतृत्वमा अन्तरिम सरकार गठन भएको थियो । सो सरकारका शिक्षामन्त्रीसहित चार जना मन्त्रीले राजीनामा दिएर चुनावी राजनीतिमा प्रवेश गरेका हुन् ।
मंगलबार बिहान मात्रै पदबाट राजीनामा दिएका शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री महावीर पुनले म्याग्दीबाट प्रतिनिधिसभा सदस्यका लागि उम्मेदवारी दर्ता गरे । त्यस्तै, निवर्तमान ऊर्जा, जलस्रोत तथा सिञ्चाइ मन्त्री कुलमान घिसिङ काठमाडौं निर्वाचन क्षेत्र नम्बर ३ बाट चुनावी प्रतिस्पर्धामा उत्रिनुहुने भएको छ ।
निवर्तमान सञ्चार तथा सूचना प्रविधिमन्त्री जगदीश खरेलले ललितपुर निर्वाचन क्षेत्र नम्बर २ बाट उम्मेदवारी दर्ता गरे भने निवर्तमान युवा तथा खेलकुद मन्त्री बब्लु गुप्ताले पनि पदबाट राजीनामा दिएर सिराहा–१ बाट उम्मेदवारी दिएका छन् ।
अन्तरिम सरकारका मन्त्रीहरू राजीनामा दिएर चुनावी मैदानमा उत्रिन थालेपछि राजनीतिक वृत्तमा यसले नयाँ चर्चा र चासो पैदा गरेको छ ।