शनिबार, कार्तिक २१ २०८३

शनिबार, कार्तिक २१ २०८३

प्रतिनिधिसभा निर्वाचनः उम्मेदवारविरुद्ध आज उजुरी दिने व्यवस्था

बुधबार, माघ ७ २०८२

काठमाडौँ । प्रतिनिधिसभा सदस्य पदका लागि उम्मेदवारी दिएका उम्मेदवारको विरोधमा आज उजुरी दिन सकिने व्यवस्था गरिएको छ ।

निर्वाचन आयोगले तय गरेको निर्वाचन कार्यक्रमअनुसार पहिलो हुने निर्वाचित हुने निर्वाचन प्रणालीतर्फ मनोनयनपत्र दर्ता भएका उम्मेदवारविरुद्ध आज उजुरी दर्ता गर्न सकिनेछ । आयोगका अनुसार माघ ८ गते बेलुका ५ बजेसम्म मनोनयनपत्र र उजुरीमाथि जाँचबुझ गरी आवश्यक निर्णयसहित उम्मेदवारको अन्तिम नामावली प्रकाशन गरिनेछ ।

आयोगले माघ ९ गते बिहान १० बजेदेखि दिउँसो १ बजेसम्म उम्मेदवारले नाम फिर्ता लिन सक्ने व्यवस्था गरेको छ । सोही दिन दिउँसो १ बजेदेखि ३ बजेसम्म अन्तिम नामावली प्रकाशन गरिनेछ भने दिउँसो ४ बजेदेखि साँझ ७ बजेसम्म उम्मेदवारलाई निर्वाचन चिन्ह प्रदान गरिने आयोगले जनाएको छ ।

प्रतिनिधिसभा सदस्य निर्वाचनअन्तर्गत पहिलो हुने निर्वाचित हुने प्रणालीतर्फको मनोनयनपत्र दर्ता कार्यक्रम सम्बन्धित मुख्य निर्वाचन अधिकृत तथा निर्वाचन अधिकृतको कार्यालयमा उत्साहजनक र शान्तिपूर्ण रूपमा सम्पन्न भएको आयोगले जनाएको छ । हालसम्म देशभर दुई हजार ९२५ जनाले उम्मेदवारी दर्ता गराएका छन् ।

मनोनयन प्रक्रिया शान्तिपूर्ण र उत्साहजनक रूपमा सम्पन्न भएकामा कार्यवाहक प्रमुख निर्वाचन आयुक्त रामप्रसाद भण्डारीले धन्यवाद व्यक्त गर्नुभएको छ । उनले निर्वाचनका आगामी कार्यक्रमहरूमा पनि राजनीतिक दल तथा सरोकारवाला सबैको निरन्तर सहयोग प्राप्त हुने अपेक्षा व्यक्त गरेकाे आयोगले जनाएको छ ।

निर्वाचन आयोगका सचिव कृष्णबहादुर राउतका अनुसार दर्ता भएका दुई हजार ९२५ उम्मेदवारमध्ये तीन सय ३६ जना महिला र दुई हजार पाँच सय ८९ जना पुरुष छन् । त्यस्तै, अपाङ्गता भएका ८५ जना र पिछडिएको क्षेत्रबाट एक सय ३८ जनाको उम्मेदवारी दर्ता भएको आयोगले जानकारी दिएको छ ।