काठमाडौं । नेकपा एमालेका अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले निर्वाचनका लागि आवश्यक शान्ति–सुरक्षा अझै पूर्ण रूपमा कायम हुन नसकेको बताएका छन् ।
सोमबार झापाको भद्रपुर विमानस्थलमा सञ्चारकर्मीहरूसँग कुरा गर्दै अध्यक्ष ओलीले सरकारले निर्वाचनका लागि आवश्यक शान्ति–सुरक्षाको पर्याप्त व्यवस्था गर्न नसकेको आरोप लगाए। समाजमा विभिन्न किसिमका आपराधिक घटनाहरू अझै भइरहेकाले सुरक्षा प्रबन्ध कमजोर देखिएको उनको भनाइ छ।
अध्यक्ष ओलीका अनुसार वर्तमान अवस्थामा निर्वाचन आयोगमाथि समेत प्रश्न उठ्न थालेकाले निर्वाचन शान्तिपूर्ण, निष्पक्ष र भयरहित रूपमा सम्पन्न हुनेमा आशंका पैदा भएको छ। तथापि, नेकपा एमाले जस्तोसुकै परिस्थितिमा पनि निर्वाचनमा सहभागी हुने उनले स्पष्ट पारे ।
उनले भने, “सुरक्षा व्यवस्था अझै राम्रो हुन सकेको छैन। विभिन्न अपराधका घटनाहरू भइरहेका छन्। निर्वाचन आयोगमाथि समेत प्रश्नचिन्ह उठ्ने अवस्था छ। यस्तो परिस्थितिमा पनि हामी चुनावमा भाग लिन्छौँ, त्यसमा कुनै समस्या छैन। तर शान्ति–सुरक्षाको अवस्था राम्रो हुनुपर्छ, जुन अझै बनेको छैन।”
अध्यक्ष ओलीले झापा निर्वाचन क्षेत्र नम्बर–५ कुनै पनि हिसाबले निर्वाचनको ‘इपिसेन्टर’ नरहेको दाबीसमेत गरे ।