शनिबार, कार्तिक २१ २०८३

शनिबार, कार्तिक २१ २०८३

काभ्रे–१ मा एमालेबाट अमित लामालाई टिकट, क्षेत्र नम्बर २ मा गोकुलले के गर्लान् ?

आइतबार, माघ ४ २०८२

काठमाडौं । नेकपा (एमाले) ले प्रतिनिधिसभा निर्वाचनका लागि काभ्रेपलाञ्चोकको क्षेत्र नम्बर १ बाट केन्द्रीय सदस्य अमित लामालाई उम्मेदवार बनाउने निर्णय गरेको छ। सो क्षेत्रमा रेशम लामा र चन्द्रबहादुर लामालगायत नेताहरू पनि टिकटका दाबेदार रहेका थिए।

त्यसैगरी, काभ्रे क्षेत्र नम्बर २ को टिकट भने एमालेले हालका लागि ‘होल्ड’मा राखेकाे छ । यस अघि याे क्षेत्रमा गोकुल बाँस्कोटा विजयी बनेका थिए ।

उक्त क्षेत्रबाट यस पटक पनि गोकुल बाँस्कोटाको एकल सिफारिस भएको भए पनि अर्का नेता अशोक ब्याञ्जूले समेत उम्मेदवारीका लागि दाबी गरेका छन्।

 एमालेले आगामी प्रतिनिधिसभा निर्वाचनका लागि देशभरका उम्मेदवार टुंगो लगाएको छ। शनिबार बसेको पार्टी सचिवालय बैठकले अध्यक्ष केपी शर्मा ओलीलाई झापा–५ बाटै उम्मेदवार बनाउने निर्णय गरेको हो।

अध्यक्ष ओली २०४८ सालदेखि निरन्तर यही निर्वाचन क्षेत्रबाट विजयी हुँदै आएका छन्। २०६४ सालको संविधानसभा निर्वाचनमा भने उनी पराजित भएका थिए। यस पटक झापा–५ मा ओलीसँग प्रतिस्पर्धा गर्न काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र साहले तयारी गरिरहेका छन् ।