शनिबार, कार्तिक २१ २०८३

शनिबार, कार्तिक २१ २०८३

निर्वाचनको विकल्प छैन, संसद् पुनःस्थापनाको पछाडि नलाग्न प्रचण्डको आग्रह

आइतबार, माघ ४ २०८२

काठमाडौं । नेपाली कम्युनिष्ट पार्टीका संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ले मुलुकमा देखिएको राजनीतिक समस्या समाधान गर्न निर्वाचनको कुनै विकल्प नरहेको स्पष्ट पार्नुभएको छ ।

शनिबार पार्टी केन्द्रीय कार्यालयमा आयोजित पार्टी प्रवेश कार्यक्रममा बोल्दै उनले सबै राजनीतिक दल निर्वाचनका लागि पूर्ण रूपमा तयार हुनुपर्नेमा जोड दिँदै संसद् पुनःस्थापनाको बहसतर्फ नलाग्न आग्रह गरे ।

पूर्वप्रधानमन्त्री दाहालले निष्पक्ष, स्वतन्त्र र भयरहित वातावरणमा निर्वाचन सम्पन्न गर्न सरकारलाई आग्रह गर्दै देशमा व्याप्त राजनीतिक अस्थिरता र अन्योलता अन्त्य गरी सुशासन कायम गर्नुपर्ने धारणा राखे । उनले समान वैचारिक आधार भएका बाम शक्तिबीच ध्रुवीकरण प्रक्रिया सुरु भइसकेको उल्लेख गर्दै केही दिनभित्र अन्य दलहरूसँग पनि एकता हुने जानकारी दिए।

कार्यक्रममा पार्टीका सहसंयोजक माधवकुमार नेपालले पार्टीको राजनीतिक दर्शनमा समाजवादी कार्यक्रम स्पष्ट रहेकाले जनताको भरोसा र विश्वास बढ्दै गएको बताए । पूर्वप्रधानमन्त्री नेपालले विचार र सिद्धान्त मिल्ने दलहरूलाई एकीकृत गर्दै वामपन्थी ध्रुवीकरणलाई थप सुदृढ बनाइने उल्लेख गरे ।

उक्त अवसरमा जनता समाजवादी पार्टी (जसपा) नेपालका केन्द्रीय उपाध्यक्ष विद्युत् बज्राचार्यको नेतृत्वमा आएको टोलीलाई नेकपामा स्वागत गरिएको थियो ।