काठमाडौँ । हाल नेपालमा पश्चिमी वायूको आंशिक प्रभाव कायम रहेको जल तथा मौसम विज्ञान विभागको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।
महाशाखाका अनुसार आज दिउँसो तराई भूभागका केही स्थानमा हुस्सु तथा कुहिरो लाग्ने सम्भावना छ। लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशसँगै गण्डकी प्रदेशका पहाडी तथा हिमाली भूभागमा आंशिक बदली रहनेछ भने बाँकी भूभागमा मौसम सामान्यतया सफा रहने अनुमान गरिएको छ। कर्णाली र सुदूरपश्चिम प्रदेशका उच्च पहाडी तथा हिमाली क्षेत्रका एक–दुई स्थानमा हल्का वर्षा तथा हिमपातको सम्भावना रहेको छ।
त्यसैगरी, आज राति पनि तराईका केही स्थानमा हुस्सु लाग्नेछ। लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशलगायत गण्डकी प्रदेशका पहाडी तथा हिमाली भूभागमा आंशिक बदली रही बाँकी क्षेत्रमा मौसम मुख्यतया सफा रहने पूर्वानुमान छ। कर्णाली र गण्डकी प्रदेशका उच्च पहाडी तथा हिमाली भूभागका एक–दुई स्थानमा भने हल्का वर्षा तथा हिमपात हुन सक्ने महाशाखाले जनाएको छ।