शनिबार, कार्तिक २१ २०८३

शनिबार, कार्तिक २१ २०८३

गगन थापाकाे अध्यक्षतामा कांग्रेसको आज पहिलो केन्द्रीय कार्यसमिति बैठक

शनिबार, माघ ३ २०८२

काठमाडौँ । निर्वाचन आयोगबाट आधिकारिक मान्यता पाएसँगै गगन थापा नेतृत्वको नेपाली कांग्रेसले आज शनिबार पहिलोपटक केन्द्रीय कार्यसमितिको बैठक डाकेको छ ।

पार्टी नेताहरूका अनुसार बैठक बिहान ११:३० बजे नयाँ बानेश्वरमा बस्नेछ । निर्वाचन आयोगले पार्टीको वैधानिकता दिएको भोलिपल्टै सभापति थापाले केन्द्रीय कार्यसमितिलाई बैठकका लागि आह्वान गरेका हुन् ।

पुस २७ देखि ३० गतेसम्म भृकुटीमण्डपमा सम्पन्न नेपाली कांग्रेसको दोस्रो विशेष महाधिवेशनले गगन थापालाई सर्वसम्मत रूपमा सभापति चयन गर्दै नयाँ नेतृत्व चयन गरेको थियो ।

यद्यपि शेरबहादुर देउवा पक्षले समेत पार्टीको आधिकारिकता दाबी गर्दै आएको थियो, तर निर्वाचन आयोगले शुक्रबार गगन थापा नेतृत्वको कांग्रेसलाई वैधानिकता प्रदान गरेको छ ।

आजको बैठक निर्वाचन आयोगबाट मान्यता पाएपछिको पहिलो बैठक हो । तर, सभापति थापाले चयन भएको हिसाबले हेर्ने हो भने यो दोस्रो बैठक हुनेछ, किनभने विशेष महाधिवेशन सम्पन्न भएको भोलिपल्टै माघ १ गते ललितपुरको कुपण्डोलमा थापाको अध्यक्षतामा पहिलो बैठक भइसकेको थियो ।