मान्म (कालीकोट) । कालीकोटको शुभकालिका गाउँपालिका–४ सल्लेरीमा शुक्रबार साँझ जीप दुर्घटना हुँदा तीन जनाको ज्यान गएको छ ।
सेरी–पान्तडी सडकखण्डअन्तर्गत सल्लेरीमा उकालो चढ्ने क्रममा भे १ ज २८९८ नम्बरको जीप अचानक ब्याक भएर भीरबाट खस्दा तीन जनाको घटनास्थलमै मृत्यु भएको हो ।
कालीकोटका प्रहरी प्रमुख हिमबहादुर खत्रीका अनुसार दुर्घटनामा दुई जना स्काभेटर अपरेटर र एक जना सहचालकको मृत्यु भएको छ । मृत्यु हुनेमा दैलेखको आठबिस नगरपालिका घर भएका २८ वर्षीय शङ्कर कठायत, अछामका टेकेन्द्र शाही र कालीकोट शुभकालिका–२ का सहचालक नवराज शाही रहेका छन् । मृतक तीनै जना सेरी–पान्तडी सडक निर्माण कार्यमा संलग्न थिए ।
प्रहरीका अनुसार भीरबाट तीनै जनाको शव निकालेर सडकसम्म ल्याइसकिएको छ । परीक्षणका लागि आफन्तलाई बोलाएर शव सदरमुकाम मान्म लैजाने तयारी गरिएको प्रहरी प्रमुख खत्रीले बताए । दुर्घटनाग्रस्त जीप सडकबाट करिब ५०० मिटर तल तिला नदीको किनारमा टुक्राटुक्रा भएको अवस्थामा फेला परेको छ ।
जिप चालक भने प्रहरीको सम्पर्कमा आएको भए पनि हालसम्म सोधपुछ हुन बाँकी रहेको प्रहरीले जनाएको छ । दुर्घटनाको जानकारी पाएलगत्तै सदरमुकाम मान्मबाट प्रमुख जिल्ला अधिकारी गोर्कणराज सुयल, प्रहरी प्रमुख खत्रीसहित जनपद र सशस्त्र प्रहरीको टोली घटनास्थल पुगेको थियो ।