शनिबार, कार्तिक २१ २०८३

शनिबार, कार्तिक २१ २०८३

बौद्धनाथको धार्मिक अस्तित्व संकटमा, जोगाउन गुठी प्रमुख लामाको आह्वान

शुक्रबार, माघ २ २०८२

काठमाडौँ । बौद्ध तथा मेलम्ची घ्याङ गुठीका प्रमुख रिन्पोछे चिनियाँ लामा भुपतिबज्र लामाले विश्व सम्पदा सूचीमा सूचीकृत पवित्र बौद्धनाथ क्षेत्रको संरक्षण र धार्मिक महिमा जोगाउन सम्पूर्ण नेपालीलाई एकजुट हुन आह्वान गरेका छन् ।

बौद्ध क्षेत्रमा अतिक्रमित जग्गाको लेखाजोखा तथा संरक्षणका विषयमा विवाद उत्पन्न भएपछि बिहीबार आयोजित पत्रकार सम्मेलनमार्फत लामाले उक्त आह्वान गरेका हुन्। “मेरो जन्म अरूका लागि हो,” भन्दै उनले बौद्धको धार्मिक अस्तित्व जोगाउँदै धार्मिक पर्यटन विकासमा टेवा पुर्‍याउन सबै पक्षले हालेमालो गर्नुपर्ने बताए ।

धर्मगुरु लामाले बौद्ध क्षेत्रमा रहेका गुठीका जग्गा संरक्षण गर्ने प्रयासमा बौद्धनाथ क्षेत्र विकास समिति बाधक बनेको आरोप लगाए । उनका अनुसार गुठीको स्वामित्वमा रहेका जग्गा अतिक्रमण गरी केही स्वार्थ समूहहरूले व्यापारिक संरचना निर्माण गरेका छन् र दैनिक रूपमा सञ्चालन हुँदै आएका धार्मिक पूजाआजामा समेत अवरोध सिर्जना भइरहेको छ।

“यस्ता गलत गतिविधि रोक्न गुठी सक्रिय भएपछि त्यसविरुद्ध नियोजित आरोप र भ्रम फैलाउने काम भइरहेको छ,” उनले भने ।

लामाले बौद्धको धार्मिक अस्तित्व जोगाउन र धार्मिक पर्यटन प्रवर्द्धन गर्न सही र तथ्यपरक सूचना सम्प्रेषण गर्न सञ्चारमाध्यमलाई आग्रह समेत गरे। धर्म र सम्प्रदायसँग जोडिएका विषयमा अध्ययनविनै समाचार प्रकाशन गर्दा आमनागरिकमा भ्रम फैलिने र पत्रकारिताको विश्वसनीयतामाथि प्रश्न उठ्ने उनको भनाइ थियाे । बौद्ध तथा मेलम्ची घ्याङ गुठीले सम्पादन गर्दै आएका कार्यमा बौद्धनाथ क्षेत्र विकास समितिले पटक–पटक अवरोध पुर्‍याएको आरोप पनि उनले लगाए ।

गुठीको स्वामित्वमा धनीपूर्जा रहेका जग्गा तथा बौद्ध पोखरीको जग्गा अवैध रूपमा नामान्तरण गर्न खोजिएको भन्दै लामाले आपत्ति जनाए। अहिले अतिक्रमित जग्गाको लेखाजोखा र संरक्षण कार्य चलिरहेकै बेला केही तत्वहरूले आफ्ना गलत कार्य ढाकछोप गर्न ‘मिडिया ट्रायल’ गरिरहेको उनको दाबी छ।

लामाका अनुसार गुठीको अस्तित्व र पहिचान मेट्ने उद्देश्यले केही व्यक्ति तथा समूह सक्रिय हुँदा सिंगो बौद्ध समुदायमाथि नै आँच पुग्ने अवस्था सिर्जना भएको छ। नेपाल सरकारअन्तर्गतको राजगुठीमा पर्ने ऐतिहासिक बौद्ध स्तूपलाई बौद्धनाथ क्षेत्र विकास समितिले आफ्नो स्वामित्वमा ल्याउन लालपूर्जासमेत बनाउने प्रयास भइरहेको विषय सार्वजनिक भएको उनले बताए ।

उनका अनुसार हाल स्तूपमा फलेको बुद्धचित्ता माला चोरी गर्ने, सिसिटिभी तोडफोड गर्ने, उच्च अदालतको फैसलाविपरीत विदेशीबाट प्रवेश शुल्क असुल्ने, होर्डिङ बोर्ड राखेर स्तूप कुरुप बनाउने, लामा तथा भिक्षुमाथि दुर्व्यवहार गर्ने र गुम्बाका भौतिक संरचना तोडफोड गर्ने जस्ता गतिविधि भइरहेको छ।

यसैबीच, बौद्धनाथ क्षेत्र विकास समितिका अध्यक्ष राजकुमार लामामाथि घ्याङ गुठीअन्तर्गत पर्ने स्तूप प्रवेशद्वारको ताला जबर्जस्ती काटी धार्मिक मण्डलामा सर्वसाधारणलाई प्रवेश गराइ टिकटक बनाउन दिइएको तथा स्थललाई डेटिङ स्थलजस्तो बनाइएको आरोप लगाइएको छ। उक्त कार्यको बौद्ध धर्मावलम्बी तथा स्थानीयवासीहरूले चौतर्फी विरोध गरेका छन्।

लामाले बौद्ध स्तूप, गुठी जग्गा र सम्पत्तिको संरक्षण तथा खोजनीति गर्दा आएका आरोपहरू तथ्यहीन रहेको दोहोर्‍याउँदै बौद्ध समुदायको धर्म, संस्कृति र पहिचान जोगाउन सबै पक्ष जिम्मेवार हुनुपर्नेमा जोड दिए ।