काठमाडौँ । निर्वाचन आयोगका प्रमुख कार्यवाहक निर्वाचन आयुक्त रामप्रसाद भण्डारीले नेपाली कांग्रेसको आधिकारिकता आयोगले विधि, परम्परा र कानुनी प्रावधानअनुसार निर्धारण गर्ने स्पष्ट गरेका छन् ।
निर्वाचन आयोगमा आफ्नो आधिकारिकता दाबी गर्न पुगेका कांग्रेस नेताहरूसँगको छलफलका क्रममा उनले राजनीतिक दलसम्बन्धी विषयमा आयोगको आफ्नै संस्थागत परम्परा, विधि, संविधान, ऐन तथा कानुन रहेको उल्लेख गर्नुभयो। ती सबैको परिधिभित्र रहेर मात्रै निर्णय गरिने उनको भनाइ छ।
“निर्वाचन आयोगको आफ्नै परम्परा, विधि र पद्धति छन्। संविधान, ऐन र कानुनको सीमाभित्र रहेर आयोगले निर्णय गर्ने हो,” भण्डारीले भने, “विधि र पद्धतिभन्दा बाहिर निर्वाचन आयोग जाँदैन।”
उनले आयोगको प्राथमिक जिम्मेवारी निर्वाचन सम्पन्न गराउने भएकाले आवश्यक कार्यक्रम सम्पन्न गर्दै निर्वाचन प्रक्रिया अघि बढाइने पनि स्पष्ट पारे।
नेपाली कांग्रेसमा गगन थापा र विश्वप्रकाश शर्माको नेतृत्वमा विशेष महाधिवेशन आयोजना गरी केन्द्रीय कार्यसमिति चयन गरिएपछि पार्टी विभाजित बनेको छ। दुवै पक्षले आफूहरू आधिकारिक रहेको दाबी गर्दै निर्वाचन आयोगमा निवेदन दिएका छन्।