काठमाडौँ । काठमाडौं महानगर प्रमुख बालेन शाहले देश विकासका लागि लोकप्रिय नाराभन्दा इमानदार नेतृत्व र दीर्घकालीन दृष्टिकोण आवश्यक रहेको बताएका छन्।
२७औँ भूकम्प सुरक्षा दिवसको अवसरमा सामाजिक सञ्जालमार्फत आफ्नो धारणा सार्वजनिक गर्दै शाहले राष्ट्र निर्माणको नयाँ यात्रामा अघि बढ्ने उद्घोष गरेका छन्।
आगामी फागुन २१ गते हुने उपनिर्वाचनमा झापा क्षेत्र नं. ५ बाट रास्वपा प्रतिनिधित्व गर्दै एमाले अध्यक्ष केपी शर्मा ओलीसँग चुनाव लड्ने तयारीमा रहेका शाहले आफ्नो इन्जिनियरिङ पृष्ठभूमि र अनुभवलाई राजनीतिसँग जोड्दै देश बदल्ने संकल्प व्यक्त गरेका छन्।
२०७२ सालको विनाशकारी भूकम्पपछि उनले सिभिल इन्जिनियरका रूपमा काभ्रेमा करिब २५ सय घर निर्माण गरेको स्मरण गर्दै गोरखा लगायत देशका ३५ भन्दा बढी जिल्लामा काम गरेको अनुभवले धेरै कुरा सिकाएको बताए।
शाहले भने, “नेपालजस्तो भूकम्पीय जोखिम भएको देश सिभिल इन्जिनियरिङको दृष्टिले मात्र सम्भव छैन। भौगोलिक भू–बनोट र विविधतायुक्त समाजलाई सँगै लैजानुपर्छ।” त्यसै बुझाइका साथ उनले भारतमा ‘स्ट्रक्चरल इन्जिनियरिङ’ अध्ययन गर्ने अवसर त्यागेर देश फर्किएको उल्लेख गरे।
काठमाडौँ महानगरपालिकाको नेतृत्व सम्हाल्दा शब्दभन्दा कामलाई प्राथमिकता दिएको उनले दाबी गर्दै स्थानीय तहले चाहेमा जनताको सुविधाका लागि धेरै काम गर्न सकिने प्रमाणित भएको जिकिर गरे। शाहले महानगरमा सुरु भएका सुधार र पारदर्शी प्रणालीलाई अब राष्ट्रिय स्तरमा विस्तार गर्ने समय आएको संकेत पनि गरे।