निर्णयविरुद्ध खबरदारी र प्रदर्शन
काठमाडौं । नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेको मुद्दा फिर्ता लिने निर्णयले महान्यायाधिवक्ता कार्यालय इतिहाससम्मका लागि कलंकित बनेको टिप्पणी गरेका छन् ।
बिहीबार काठमाडौंमा आयोजित ४२औँ पिस्कर शहीद स्मृति दिवस कार्यक्रमलाई सम्बोधन गर्दै अध्यक्ष ओलीले अहिले नेपालमा थिति र विधिको शासन नरहेको आरोप लगाए। उनले विश्वका अन्य देशहरूमा जस्तै शासन चलिरहेको भए पनि नेपालमा सुशासन र कानुनी व्यवस्था कमजोर बनेको दाबी गरे ।
अध्यक्ष ओलीले कसैलाई ठगे पनि मुद्दा फेर्न सकिने वा आममाफी पाउने अवस्था सिर्जना भएको भन्दै व्यंग्यात्मक टिप्पणी गरे। “मुद्दा फिर्ता लिएपछि ठगिएको पैसा महान्यायाधिवक्ता कार्यालयले तिर्छ ?” भन्दै उनले प्रश्न गरे ।
उनले भने, “अहिले नेपालमा कस्तो सरकार र कस्तो शासन छ भन्ने कुरा सबैले देखिरहेका छन्। अब कसैलाई कानून लाग्दैन, कसैले अरूको सम्पत्ति खाए पनि सजाय हुँदैन। भुलचुकले मुद्दा परे माफी मिनाहा हुन्छ, अभियोग परिवर्तन गरिन्छ र चुनावमा हिरो बनाएर अघि बढाइन्छ।”
अध्यक्ष ओलीले जेन–जी विद्रोहका क्रममा नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवामाथि भएको भौतिक आक्रमणप्रति पनि कडा प्रतिक्रिया जनाए। उहाँले ८२ वर्षका एक नेतामाथि आक्रमण हुनु असभ्य समाजको परिचायक भएको भन्दै त्यस्तो घृणित कार्यको समर्थनमा कांग्रेसकै केही नेताहरू उत्रिएको आरोप लगाए। “विरोध त परै जाओस्, सहानुभूतिसमेत व्यक्त भएन,” उनले भने।
अध्यक्ष ओलीले अहिले नेपालमा ‘जसको लाठी, त्यसको भैंसी’ जस्तो शासन स्थापित भएको टिप्पणी गर्दै महान्यायाधिवक्ता कार्यालय लज्जाको विषय बनेको दाबी गरे ।
यसै अवसरमा अध्यक्ष ओलीले नेकपा एमाले फुट्नबाट जोगिएको दाबी पनि गरे। उनका अनुसार नेपाली कांग्रेसमा देखिएको जस्तै अवस्था एमालेमा पनि सिर्जना गर्न खोजिएको भए पनि पार्टी महाधिवेशनमार्फत नेतृत्व चयन गरेर एमाले एकजुट बनेको हो।
“हाम्रो पार्टीमा पनि फुटको प्रयास भयो,” उनले भने, “तर समयमै महाधिवेशन गरेर भ्रम र हल्लाको तुवाँलो चिरेर पार्टी जोगायौँ। महाधिवेशनले स्पष्ट फैसला दिएको छ, पार्टी एकताबद्ध छ।”
अध्यक्ष ओलीले प्रधानमन्त्री हुँदा आफू सुत्नसमेत नभ्याउने गरी काममा तल्लिन रहेको उल्लेख गर्दै अहिले सबै नराम्रो र पहिला सबै राम्रो भन्ने खालको भाष्य निर्माण गर्नु गलत हुने बताए ।
लामिछानेसम्बन्धी निर्णयविरुद्ध माइतीघरमा खबरदारी प्रदर्शन
लामिछानेको पक्षमा महान्यायाधिवक्ता कार्यालयले गरेको निर्णयविरुद्ध काठमाडौंको माइतीघर मण्डलामा खबरदारी प्रदर्शन गरिएको छ।
प्रदर्शनकारीहरूले लामिछानेमाथि लगाइएका संगठित अपराध र सम्पत्ति शुद्धीकरणसम्बन्धी अभियोग फिर्ता लिने महान्यायाधिवक्ता कार्यालयको निर्णयलाई ‘राजनीतिक संरक्षण’ र ‘न्यायको उपहास’ भएको आरोप लगाउँदै विरोध जनाएका हुन्। उनीहरूले प्लेकार्ड प्रदर्शन गर्दै सहकारी ठगीका पीडित बचतकर्ताहरूलाई न्याय दिन माग गरेका छन्।
महान्यायाधिवक्ता सविता भण्डारी बरालले मंगलबार कास्की, रुपन्देही, काठमाडौं र पर्सा जिल्ला अदालतमा दायर अभियोगपत्र संशोधन गरी संगठित अपराध र सम्पत्ति शुद्धीकरणसम्बन्धी अभियोग फिर्ता लिने स्वीकृति दिएकी थिइन्। यस निर्णयपछि लामिछानेमाथि सहकारी ठगीको अभियोग मात्र कायम रहने भएको छ।
महान्यायाधिवक्ता कार्यालयका अनुसार उक्त निर्णय मुलुकी फौजदारी कार्यविधि संहिता, २०७४ को दफा ३६ बमोजिम गरिएको हो।
प्रदर्शनमा सहभागीहरूले यस निर्णयले सहकारी ठगीका पीडितहरूको हकहितलाई प्राथमिकतामा नराखी राजनीतिक पूर्वाग्रहका आधारमा मुद्दा कमजोर बनाइएको आरोप लगाएका छन्।
यसअघि लामिछानेले आफूमाथि राजनीतिक प्रतिशोधका कारण गम्भीर अभियोग लगाइएको दाबी गर्दै महान्यायाधिवक्ता कार्यालयमा निवेदन दिएका थिए।