शनिबार, कार्तिक २१ २०८३

शनिबार, कार्तिक २१ २०८३

सर्वपक्षीय सरकार गठनका लागि संघर्ष गर्ने माओवादी र जेन-जी समूहबीच चार बुँदे सहमति

शुक्रबार, माघ २ २०८२

काठमाडौँ । नेकपा (माओवादी) र जेन–जी पुस्ताका अगुवा मिराज ढुंगाना नेतृत्वको समूहबीच सर्वपक्षीय सरकार गठनका लागि संयुक्त रूपमा संघर्ष गर्ने सहमति भएको छ।

बिहीबार माइतीघरमा दुई पक्षबीच चार बुँदे सहमति भएको नेकपा (माओवादी) का अध्यक्ष नेत्रविक्रम चन्दले जानकारी दिए। सहमतिपछि आयोजित कार्यक्रममा बोल्दै अध्यक्ष चन्दले यसलाई ऐतिहासिक सहमति भएको दाबी गरे।

उनका अनुसार अन्तरिम सरकार गठनका लागि संघर्ष गर्ने, राज्यको अग्रगामी पुनर्संरचना गर्ने, सर्वपक्षीय सहमति निर्माणका लागि पहल गर्ने, भ्रष्टाचारविरुद्ध विशेष न्यायिक निकाय गठन गर्ने तथा जेन–जी विद्रोहका माग पूरा गर्न संयुक्त संघर्ष गर्ने विषयमा दुई पक्षबीच सहमति भएको हो। आन्दोलन गन्तव्यमा नपुग्दासम्म संघर्ष निरन्तर रहने उनले जिकिर गरे।

यसैबीच, जेन–जी अभियन्ता मिराज ढुंगानाले जेन–जी विद्रोहबाट अर्थहीन निर्वाचनबाहेक अरू ठोस उपलब्धि नआएको टिप्पणी गरे। बिहीबार माइतीघरमा आयोजित प्रदर्शनका क्रममा उनले गत भदौ २३ र २४ गतेको जेन–जी आन्दोलनको उपलब्धि अर्थहीन निर्वाचन मात्र भएको बताए।

ढुंगानाले अहिले केही नयाँ राजनीतिक पात्रहरूले संविधान उत्कृष्ट रहेको प्रतिक्रिया दिइरहेको भन्दै संविधान सच्याउन जरुरी रहेको उल्लेख गरे। उनले नेपालमा व्यक्तिमात्र नभई प्रणाली नै गलत रहेको दाबी गरे। निर्वाचनको रट लगाउने प्रवृत्तिले युवाको भावना बेवास्ता गर्दै देशलाई अन्त्यहीन निर्वाचनतर्फ धकेलिरहेको उनको आरोप छ।

“पात्र मात्र गलत होइनन्, यो सिस्टम नै गलत छ। निर्वाचनको रट लगाउने श्रृंखला चलिरहेको छ,” ढुंगानाले भने, “व्यक्ति र पात्रमा मात्र होइन, संविधानमै समस्या छन्। पहिला संविधान मान्य छैन भन्नेहरू अहिले निर्वाचन नजिकिँदै गर्दा आफ्नो स्वार्थका लागि संविधान उत्कृष्ट छ भन्न थालेका छन्। शब्द उनीहरूका फेरिएका छन्, तर हाम्रो शब्द उही हो।”

उनले यत्रो विद्रोहपछि पनि अर्थहीन निर्वाचन मात्र प्राप्त भएको भन्दै यसले देशको अवस्थालाई के परिवर्तन गर्छ भन्ने प्रश्न उठाउनुभयो। साथै, वर्तमान संविधानले परिवर्तन गर्न चाहने व्यक्तिको पनि हात बाँधिदिने अवस्था सिर्जना गरेको उनको भनाइ छ।