शनिबार, कार्तिक २१ २०८३

शनिबार, कार्तिक २१ २०८३

माघे सङ्क्रान्तिजस्ता चाडपर्वले सामाजिक सद्भाव सुदृढ बनाउँछन् : सभामुख घिमिरे

बिहिबार, माघ १ २०८२

काठमाडौँ । सभामुख देवराज घिमिरेले माघे सङ्क्रान्तिजस्ता नेपाली चाडपर्वले आपसी मेलमिलाप, सामाजिक सद्भाव र राष्ट्रिय एकतालाई मजबुत बनाउँदै लोकतान्त्रिक मूल्य र सहअस्तित्वको भावनालाई थप सुदृढ पार्ने विश्वास व्यक्त गरेका छन् ।

माघे सङ्क्रान्ति तथा माघी पर्वको अवसरमा स्वदेश तथा विदेशमा रहेका सम्पूर्ण नेपाली दिदीबहिनी तथा दाजुभाइहरूमा सुख, शान्ति, सुस्वास्थ्य र समृद्धिको शुभकामना व्यक्त गर्दै सभामुख घिमिरेले यस्तो धारणा राखे ।

शुभकामना सन्देशमा सभामुख घिमिरेले माघी, माघे सङ्क्रान्ति वा मकर सङ्क्रान्तिका रूपमा मनाइने यस पर्वलाई थारू समुदायले नयाँ वर्षका रूपमा, मगर समुदायले राष्ट्रिय पर्वका रूपमा, नेवार समुदायले ‘घ्यूचाकु सँल्हु’का रूपमा तथा तराई–मधेसका विभिन्न समुदायले ‘नहान’ पर्वका रूपमा आ–आफ्नै मौलिक परम्परासहित मनाउँदै आएको उल्लेख गरे। यी विविध परम्पराले नेपालको साझा राष्ट्रिय पहिचान झल्काउने उनको भनाइ छ।

जाडोलाई बिदाइ गर्दै न्यानोपन, आशा र नयाँ ऊर्जाको सन्देश दिने माघे सङ्क्रान्ति नेपाली समाजमा आस्था, परम्परा र सामाजिक एकताको महत्वपूर्ण प्रतीकका रूपमा स्थापित रहेको सभामुख घिमिरेले बताएका छन्। सूर्य उत्तरायणतर्फ प्रवेश गर्ने यस दिनले प्रकृतिको चक्रसँग मानव जीवनको सम्बन्धलाई स्मरण गराउने उल्लेख गर्दै उनले माघे सङ्क्रान्तिमा पवित्र नदी, त्रिवेणी तथा तीर्थस्थलमा स्नान, पूजा–अर्चना, दान–पुण्य गर्ने तथा घ्यू, चाकु, तिल, तरुल, खिचडीलगायत पोषिलो परिकार सेवन गर्ने परम्परा रहेको बताए।

यस्ता संस्कार र परम्पराले नेपाली समाजलाई प्रकृतिमैत्री र मानवीय मूल्यमा आधारित बनाउन महत्वपूर्ण योगदान पुर्‍याएको उनको भनाइ छ। अन्त्यमा सभामुख घिमिरेले माघे सङ्क्रान्ति तथा माघी पर्वले सबै नेपालीमा सकारात्मक सोच, सामाजिक उत्तरदायित्व र समृद्धिको बाटोमा अघि बढ्ने प्रेरणा प्रदान गरोस् भन्ने कामनासहित पुनः हार्दिक शुभकामना व्यक्त गरे ।