काठमाडौँ । महान्यायाधिवक्ताको कार्यालयले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति तथा पूर्वगृहमन्त्री रवि लामिछानेविरुद्ध दायर सङ्गठित अपराध र सम्पत्ति शुद्धीकरणसम्बन्धी मुद्दाका अभियोग संशोधन गर्न स्वीकृति दिएको छ।
महान्यायाधिवक्ता कार्यालयले बुधबार विभिन्न जिल्ला अदालतमा विचाराधीन ती मुद्दासम्बन्धी अभियोग संशोधन गर्दै सङ्गठित अपराध र सम्पत्ति शुद्धीकरणको अभियोग कायम नरहने गरी प्रक्रिया अघि बढाउन अनुमति दिएको हो।
महान्यायाधिवक्ता सविता भण्डारीद्वारा प्रमाणित टिप्पणीमा उल्लेख भएअनुसार, कास्की, काठमाडौँ, रुपन्देही र पर्सा जिल्ला अदालतमा रवि लामिछाने प्रतिवादी भएका मुद्दामा चितवन जिल्ला अदालतमा सरह ठगी तथा सहकारी ठगीसम्बन्धी अभियोग मात्र कायम गरिनेछ। सङ्गठित अपराध र सम्पत्ति शुद्धीकरणसम्बन्धी अभियोग भने मुलुकी फौजदारी कार्यविधि संहिता, २०७४ बमोजिम संशोधन गरी हटाइने निर्णय गरिएको हो।
महान्यायाधिवक्ता कार्यालयको स्वीकृतिसँगै अब कास्की, रुपन्देही, काठमाडौँ र पर्सा जिल्ला सरकारी वकिल कार्यालयबाट आवश्यक कानुनी कारबाही अघि बढाइने जनाइएको छ।
यसअघि लामिछानेले सङ्गठित अपराध र सम्पत्ति शुद्धीकरणसम्बन्धी अभियोग फिर्ता लिन माग गर्दै महान्यायाधिवक्तासमक्ष निवेदन दिएका थिए ।