शनिबार, कार्तिक २१ २०८३

शनिबार, कार्तिक २१ २०८३

प्रधानमन्त्री कार्कीको उपस्थितिमा सुशासन र समृद्धिका लागि स्वजागरण कार्यक्रम

बुधबार, पुष ३० २०८२

काठमाडौँ । प्रधानमन्त्री सुशीला कार्कीको उपस्थितिमा प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालय, सिंहदरबारमा आज सुशासन र समृद्धिका लागि स्वजागरण कार्यक्रम सम्पन्न भएको छ।

कार्यक्रममा मन्त्रीगण, प्रधान सेनापति लगायत विभिन्न सुरक्षा निकायका उच्च अधिकारी, मुख्य सचिव तथा सचिव, विभागीय प्रमुख, र निजी क्षेत्रका प्रतिनिधिहरूको सहभागिता रहेको थियो।

कार्यक्रममा जीवन विज्ञानका संस्थापक एलपी भानु शर्माले स्वजागरणसम्बन्धी प्रवचन प्रस्तुत गरेका थिए ।

प्रधानमन्त्री कार्कीले यस अभियानले नैतिकता, सदाचारिता र सेवाभावयुक्त जनशक्ति निर्माण गरी मुलुकमा सुशासन स्थापनामा सहयोग पुर्‍याउने विश्वास व्यक्त गरिन्। उनले मुलुकमा विभिन्न सामाजिक–राजनीतिक आन्दोलन र जेनजी पुस्ताको सुशासन तथा सदाचारको मागलाई ध्यानमा राख्दै स्वजागरणलाई सबै तहमा संस्थागत गरी दैनिक जीवनको हिस्सा बनाउन आवश्यक भएको बताइन् ।

प्रधानमन्त्री कार्कीका अनुसार,“स्वजागरण केवल आध्यात्मिक अभ्यास मात्र होइन। यो व्यक्तिलाई आन्तरिक रूपमा खुसी र शान्त रहन सिकाउँछ र बाह्य रूपमा जिम्मेवार, कर्तव्यनिष्ठ र समृद्ध समाज निर्माणमा सहयोग पुर्‍याउँछ। स्वजागरणले पहिले आफूलाई व्यवस्थित, अनुशासित र सचेत बनाउँछ र त्यसपछि परिवार, समाज र राष्ट्रप्रति जिम्मेवार बन्न प्रेरित गर्दछ। स्वजागृत व्यक्तिले अधिकार मात्र खोज्दैन, आफ्नो कर्तव्य के हो भन्ने प्रश्न आफैँसँग गर्छ।”

कार्यक्रमले स्वजागरणलाई व्यक्तिगत जीवनदेखि समाज र राष्ट्रस्तरमा लागू गरी सुशासन र समृद्धि हासिल गर्ने उद्देश्यलाई अघि सारेको छ।