काठमाडौँ । नेकपा एमालेका सचिव महेश बस्नेतले काठमाडौँ महानगरपालिकाका मेयर बालेन शाहलाई लक्षित गर्दै कडा टिप्पणी गरेका छन्।
आगामी प्रतिनिधिसभा निर्वाचनमा बालेन शाह एमाले अध्यक्ष केपी शर्मा ओलीले विगतमा जित्दै आएको झापा–५ बाट चुनाव लड्न सक्ने चर्चाबीच बस्नेतले सामाजिक सञ्जालमार्फत आक्रामक अभिव्यक्ति दिएका हुन्। राष्ट्रिय स्वतन्त्र पार्टीसँगको समझदारी पश्चात बालेन झापा निर्वाचन क्षेत्र नम्बर ५ बाट भुनाव लड्ने चर्चा छ ।
बस्नेतले आफ्नो सामाजिक सञ्जालमा लेखेका छन्— “श्याललाई काल आयो भने बजार छिर्छ” भन्ने उखान प्रयोग गर्दै बालेन शाहलाई काठमाडौँमा असफल मेयर, आफ्नै जन्मथलो महोत्तरीमा राजनीतिक उपस्थिति देखाउन नसक्ने व्यक्ति भनेर आरोप लगाएका छन्।
उनले बालेनलाई ‘फेसबुकिया प्रधानमन्त्री’ भन्दै विदेशी शक्तिको मतियारसमेत भएको आरोपसमेत गरेका छन्।
बस्नेतको दाबी अनुसार यदि बालेन शाहले साँच्चै झापाबाट निर्वाचन लडे भने उनले “लज्जास्पद पराजय” भोग्नुपर्नेछ र त्यसपछि राजनीति छोडेर पुरानै पेशातर्फ फर्कनुपर्ने अवस्था आउनेछ।
बस्नेतकाे यो टिप्पणी केवल व्यक्तिगत आलोचना मात्र नभई आगामी प्रतिनिधिसभा निर्वाचनलाई लक्षित राजनीतिक रणनीतिक सन्देशका रूपमा पनि हेर्न सकिन्छ। विशेषतः झापा–५ एमालेका लागि प्रतीकात्मक र रणनीतिक रूपमा अत्यन्तै महत्वपूर्ण क्षेत्र मानिन्छ, जहाँ केपी शर्मा ओलीको राजनीतिक पकड बलियो रहँदै आएको छ। यस्तो क्षेत्रमा बालेन शाहजस्ता स्वतन्त्र छविका नेताको सम्भावित उम्मेदवारीको चर्चा आफैंमा एमालेका लागि चुनौतीको संकेत हो।
बस्नेतको आक्रामक भाषाशैलीले एमाले नेतृत्व बालेन शाहको बढ्दो लोकप्रियता र सामाजिक सञ्जालमार्फत बन्ने जनमतप्रति सजग रहेको देखाउँछ। यद्यपि, बालेन शाहले हालसम्म प्रतिनिधिसभा निर्वाचन लड्नेबारे औपचारिक घोषणा गरेका छैनन्। तर चर्चामात्रैले पनि सत्तारूढ तथा ठूला दलहरूमा तरंग सिर्जना गर्नुले बालेनको राजनीतिक प्रभाव काठमाडौँ सीमित नरहेको सन्देश दिन्छ।
अर्कोतर्फ, यस्तो स्तरको व्यक्तिगत आरोप–प्रत्यारोपले राजनीतिक बहसको स्तर झनै खस्किने खतरा पनि देखिन्छ। नीति, विकास र वैचारिक प्रतिस्पर्धाभन्दा व्यक्तिमाथि केन्द्रित कटाक्षले मतदातामा नकारात्मक सन्देश जान सक्ने राजनीतिक विश्लेषकहरूको भनाइ छ।
बस्नेतको टिप्पणीले आगामी निर्वाचन नजिकिँदै जाँदा स्वतन्त्र र वैकल्पिक राजनीतिक पात्रहरूलाई लिएर स्थापित दलहरू कति संवेदनशील र आक्रामक बन्दै गएका छन् भन्ने स्पष्ट संकेत गर्छ।