समझदारी नभए अरु निर्णय लिने संस्थापनको चेतावनी
काठमाडौँ । नेपाली कांग्रेसको केन्द्रीय कार्यसमितिको बैठक बुधबार बिहानका लागि बोलाइएको छ। मंगलबार दिनभर बैठक बस्न नसकेपछि बैठक बुधबारका लागि सारिएको हो।
पार्टीका मुख्य सचिव कृष्णप्रसाद पौडेलका अनुसार बैठकमा केन्द्रीय कार्यसमितिका पदाधिकारी, सदस्यहरू तथा सातै प्रदेशका सभापतिहरूलाई उपस्थितिका लागि अनुरोध गरिएको छ।
मंगलबार विशेष महाधिवेशन पक्षधर र संस्थापन पक्षधर नेताहरूबीच दिनभर वार्ता चलेका कारण केन्द्रीय कार्यसमिति बैठक बस्न सकेको थिएन। कांग्रेसका महामन्त्रीद्वय गगन थापा र विश्वप्रकाश शर्मा भृकुटीमण्डपमा जारी विशेष महाधिवेशन कार्यक्रममा व्यस्त रहेकाले बैठकमा सहभागी नहुने बताइएको छ।
यसअघि पनि पार्टीभित्र देखिएको गुटगत विवादका कारण केन्द्रीय कार्यसमितिको बैठक पटक–पटक स्थगित हुँदै आएको छ। विशेष महाधिवेशन, नेतृत्व परिवर्तन र पार्टी एकताका विषयमा जारी आन्तरिक बहसले बैठकको कार्यतालिकामा प्रभाव परेको देखिएको छ।
समझदारी नभए अरु निर्णय लिने संस्थापनको चेतावनी
कांग्रेसले महामन्त्रीद्वय गगन थापा र विश्वप्रकाश शर्मालाई पार्टीको केन्द्रीय समितिको निर्णयविरुद्ध नजान कडा चेतावनी दिएको छ। पार्टी प्रवक्ता डा. प्रकाशशरण महतले केन्द्रीय समितिको निर्णय नमानेमा पार्टीले थप निर्णय लिनुपर्ने अवस्था आउन सक्ने स्पष्ट सन्देश दिए ।
मंगलबार सञ्चारकर्मीहरूसँग कुरा गर्दै प्रवक्ता महतले पार्टीलाई एकीकृत बनाएर अघि बढ्ने विषयमा विभिन्न चरणमा छलफल भइरहेको जानकारी दिए। उनले बुधबार बिहानसम्म सहमतिमा पुगेर अघि बढ्न महामन्त्रीद्वयलाई आग्रह समेत गरे ।
प्रवक्ता महतका अनुसार वार्ता र संवादमार्फत सहमति खोज्न संस्थापन पक्षले अधिकतम लचकता देखाइरहेको छ। उनले अहिले पार्टी विभाजन र विग्रहको दिशातर्फ जानुपर्ने बेला नभई सम्पूर्ण पार्टी एक भएर आम निर्वाचनमा जानुपर्नेमा जोड दिए। अझै पनि सकारात्मक नतिजा निस्कनेमा पार्टी आशावादी रहेको उनको भनाइ छ।
उनले कांग्रेसको स्पष्ट योजना पार्टीलाई एकताबद्ध गर्दै आम निर्वाचनमा सहभागी हुने, निर्वाचनमा राम्रो परिणाम हासिल गरेपछि नियमित अधिवेशनमार्फत नयाँ नेतृत्व चयन गर्ने रहेको बताए ।
प्रवक्ता महतले भनेका थिए,“वार्ता र संवाद नेतृत्व तहबाट निरन्तर भइरहेको छ। हाम्रो प्रयास सम्पूर्ण पार्टी पंक्ति एक भएर अघि बढ्ने हो। अहिले विशेष अधिवेशनको नाममा विभाजनतर्फ जाने होइन, एकताको समय हो। सबै एकजुट भएर आम निर्वाचनमा गयौँ भने पार्टीको पक्षमा राम्रो परिणाम आउँछ। त्यसपछि नियमित अधिवेशनबाट नयाँ नेतृत्व चयन हुन्छ। अझै पनि सहमति सम्भव छ भन्नेमा हामी विश्वस्त छौँ।”