शनिबार, कार्तिक २१ २०८३

शनिबार, कार्तिक २१ २०८३

प्रतिनिधिसभा निर्वाचनको परिणाम एमालेको पक्षमा आउँछ : महासचिव पोखरेल

मंगलबार, पुष २९ २०८२

काठमाडौँ। नेपाल कम्युनिष्ट पार्टी (एमाले)का महासचिव शङ्कर पोखरेलले आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनको परिणाम एमालेको पक्षमा आउने दाबी गरेका छन् ।

बागमती प्रदेश सङ्गठन कमिटीद्वारा साेमबार आयोजित बागमती प्रदेशस्तरीय संयुक्त कार्यकर्ता भेलालाई सम्बोधन गर्दै महासचिव पोखरेलले निर्वाचन परिणामलाई एमालेको अनुकूल बनाइने बताए। उनले पार्टीले विभिन्न गतिविधि गरिरहे पनि जनताको घरघरमा पुगेर प्रत्यक्ष संवाद गर्न नसक्नु कमजोरी रहेको स्वीकार गरे ।

“हामी धेरै कार्यक्रम गरिरहेका छौँ, तर मुख्य कुरा जनताको घरघरमा पुगेर संवाद गर्नु हो, जुन अहिलेसम्म गर्न सकेका छैनौँ। यो हाम्रो कमजोरी हो,” उनले भने, “पहिले हामी प्रत्येक व्यक्तिको घरमा पुगेर संवाद गर्थ्यौँ, मेहनत गरेर एमाले बनाउँथ्यौँ। पछिल्लो समय भने उम्मेदवारका पछाडि मात्र देखिन थालेका छौँ।”

महासचिव पोखरेलले उम्मेदवारको पछाडि मात्र घुमेर चुनावी सफलता हासिल गर्न नसकिने स्पष्ट पारे। उनका अनुसार चुनावी अभियान पार्टी आन्दोलनको भविष्यसँग प्रत्यक्ष रूपमा जोडिएको छ। “यदि चुनावी अभियानमा चुक्यौँ भने मुलुक राजनीतिक द्वन्द्वको क्रिडास्थल बन्न सक्छ, त्यसैले सम्पूर्ण रूपमा अभियानमा जुट्न आवश्यक छ,” उनले जोड दिए ।

कार्यक्रममा एमालेका सचिव महेश बस्नेतले बागमती प्रदेशका सबै निर्वाचन क्षेत्र जित्ने लक्ष्यसहित रणनीति बनाउनुपर्ने आवश्यकता औँल्याए। त्यस्तै, बागमती प्रदेश सङ्गठन कमिटीका अध्यक्ष नारायण सिलवालले निर्वाचन केन्द्रित अभियान सुरु भइसकेको जानकारी दिए ।