काठमाडौँ । नेपाली कांग्रेस विशेष महाधिवेशन पक्षधर समूहको आह्वानमा आइतबारदेखि सुरु भएको विशेष महाधिवेशनको दोस्रो दिन आज बन्दसत्र सुरु भएको छ।
विशेष महाधिवेशन प्रचारप्रसार समितिले आज आयोजित पत्रकार सम्मेलनमार्फत केहीबेर अघि भृकुटीमण्डपस्थित हलमा बन्दसत्र औपचारिक रूपमा सुरु भएको जानकारी दिएको हो। बन्दसत्रको अध्यक्षता काठमाडौँ क्षेत्र नं. ५ का कांग्रेस नेता तथा ज्येष्ठ महाधिवेशन प्रतिनिधि ८८ वर्षीय श्यामकुमार खड्काले गरिहेका छन्।
प्रचारप्रसार समिति संयोजक सुवास पोखरेलका अनुसार कांग्रेस विशेष महाधिवेशन पक्षधरले विशेष महाधिवेशनका लागि तयार पारेको कार्यविधि कानुन व्यवसायी तथा महाधिवेशन प्रतिनिधि नारायणप्रसाद भट्टराईले वाचन गर्ने कार्यक्रम रहेको छ। साथै, कांग्रेस कास्कीका सभापति किशोरदत्त बरालले बन्दसत्रको कार्यक्रम सञ्चालन गर्नेछन् ।
बन्दसत्रमा पार्टीका महामन्त्रीद्वय गगनकुमार थापा र विश्वप्रकाश शर्माले छुट्टाछुट्टै दुई प्रस्ताव पेस गर्ने कार्यसूची छ। ती प्रस्तावमा राजनीतिक समीक्षा, पार्टीभित्रको विधि, विधान संशोधन तथा संरचनागत सुधारलगायत विषय समेटिएका छन्।
महामन्त्रीद्वयले प्रस्तुत गरेका प्रस्तावमाथि नौ वटा विभिन्न समूहमा विभाजन गरी छलफल गरिने र छलफलबाट निष्कर्ष निकालिने प्रचारप्रसार समिति संयोजक पोखरेलले जानकारी दिए ।