शनिबार, कार्तिक २१ २०८३

शनिबार, कार्तिक २१ २०८३

मेयरबाट राजीनामा दिँदै बालेन, कहाँबाट चुनाव लड्लान् ?

सोमबार, पुष २८ २०८२

काठमाडौँ । काठमाडौं महानगरपालिकाका मेयर बालेन शाहले आउँदो माघ ४ गते मेयर पदबाट राजीनामा दिने तयारी गरेका छन्।

वरिष्ठ नेताको रूपमा हाल राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)मा प्रवेश गरेका मेयर शाहले फागुन २१ मा हुने प्रतिनिधिसभा निर्वाचनका लागि उम्मेदवारी दर्ता गर्न दुई दिनअघि मेयर पदबाट राजीनामा दिने निर्णय लिएकाे बालेनको सचिवालयका एक सदस्यले जानकारी दिए। निर्वाचन आयोगको कार्यतालिका अनुसार प्रतिनिधिसभा निर्वाचनका लागि मनोनयन दर्ता माघ ६ गते तोकिएको छ।

रास्वपाले आगामी निर्वाचनमा बालेन शाहलाई प्रधानमन्त्री उम्मेदवारको रूपमा घोषणा गरिसकेको छ। यसैबीच मेयर शाहले नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई चुनौती दिँदै झापा–५ बाट उम्मेदवारी दिने तयारी गरिरहेका छन्।

आइतबार उनी झापाका नेताहरूसँग डेढ घन्टा छलफलमा जुटेका थिए।

ललितपुर–१०, ज्वागलस्थित सचिवालय सदस्य कुमार बेनको घरमा भएको भेटमा मेयर शाह रास्वपा झापा अध्यक्ष प्रकाश पाठक, सचिव शम्भु सुस्केरा लगायतसँग कुराकानी गरेका थिए। अध्यक्ष पाठकका अनुसार, बैठकमा बालेन शाहले झापा–५ बाट चुनाव लड्ने निधो गरिसकेको बताएका थिए।

झापा–५ नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीको निर्वाचन क्षेत्र पनि हो। यहाँ ओलीले लगातार जित हासिल गर्दै आएका छन्। २०६४ सालमा भने उनले तत्कालीन माओवादी उम्मेदवारसँग पराजय भोगेका थिए।

यसैबीच, मेयर बालेनले आइतबार थरूहट आन्दोलनका अगुवाहरू लक्ष्मण थारू, सुरेन्द्र चौधरी लगायतसँग पनि भेटवार्ता गरेका छन्।